धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानलाई स्मार्ट सिटि बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

तीन दिने धरान महोत्सवको आइतबार समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले धरानलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै स्मार्ट सिटिमा रुपान्तरण गर्न सहयोग गर्ने बताएका हुन् । मुख्यमन्त्री राईले दिवंगत मेयर तारा सुब्बालाई स्मरण गर्दै स्मार्ट सिटिको परिकल्पना साकार गर्न प्रदेश सरकारले सहयोग र सहकार्य गर्ने बताए । ‘धरानको विकासमा प्रदेश सरकार सहकार्य गर्न तयार छ, अब हाम्रो एकमात्र सपना, अर्जुनदृष्टि विकास र समृद्धि हुनुपर्छ,’उनले भने,‘प्रकृति सँस्कृति, जातिगत विविधता र विकासको दृष्टिले छुट्टै पहिचान बनाएको धरान भविष्यमा अन्र्तराष्ट्रियस्तरमा पनि आफ्नो अलग्गै पहिचान बनाउनसक्छ भन्ने विश्वास लिएको छुँ ।’

मुख्यमन्त्री राईले धरानलाई चालु आर्थिक बर्षमा पर्यटन नगरी घोषणा गरेर एक करोड बजेट उपलब्ध गराएको बताए । यस्तै, धरानलाई खेलकुदको राजनधानी बनाउने उद्देश्य अनुरुप खेलग्राम निर्माणको लागि पनि ५ करोड बजेट विनियोजन प्रदेश सरकारले दिएको मुख्यमन्त्री राईले बताए । ‘धरानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेकोछ , यो बर्ष पर्यटन नगरी घोषणा गरेका छौं, र १ करोड बजेट उपलब्ध पनि गराएका छौं,’उनले भने,‘खेलकुदको पनि राजधानी बनाउने घोषणा गरेर धरानलाई खेलग्रामको लागि ५ करोड बजेट पनि दिइसकेका छौं ।’

cm1

पर्यटनलाई मुख्य आधार बनाएर विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको धारणा राख्दै मुख्यमन्त्री राईले नेपालको प्रकृति, सँस्कृति र विविधता देखाएर विश्वभरको पर्यटक तान्नसकिने बताए । ‘पर्यटनलाई मुख्य आधार बनाएर नेपाललाई आर्थिकरुपमा वलियो, समृद्ध बनाउन चाहन्छौं,’उनले भने,‘पर्यटनको क्षेत्रमा प्रदेश १ ओझेलमा छ, प्रदेश सरकार लुकेका गन्तव्यस्थलहरुको विकास गरेर लाखौं पर्यटक भित्र्याउन चाहन्छौं ।’

कार्यक्रमका विशिष्ट अतिथि एवं प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक दलको स्वार्थभन्दा माथि उठेर धरानको विकास गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले धरानको विकासको लागि सबै एकतावद्ध हुनुपर्ने धारणा राखे । धरानको पर्यटकीय गन्तव्य, यहाँको उत्पादन र मौलिक परिकारहरुको बजारीकरण गरेर पर्यटन विकास गर्न उनले सुझाव दिए । ‘लुकेको प्रतिभा र सँस्कृतिहरुलाई बाहिर ल्याउनुपर्छ, धरान बनाउने र पर्यटन विकास गर्ने अभिभारा तपाई हाम्रो हो,’उनले भने ।

pradeep