उदयपुर: किरात राई साँस्कृतिक कलाकार संघको पाचौं राष्ट्रिय सम्मेलनबाट रामकर रार्ई अध्यक्षमा निर्वाचित भएका छन् ।

उदयपुरको गाइघाटमा आइतबार मध्यराती सम्पन्न तीन दिने सम्मेलनबाट राईको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । विधान अनुसार संस्थाको तीन उपाध्यक्षमा शालिक सतासक राई, रोशन राई र शुशिला राई चयन भएका छन् भने महासचिबमा राई नविन, संस्थाको तीन सचिबमा सुरज मेवाहाङ राई, पदम राई, पूर्ण छिलिङ राई चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा मुकेश राई, दुई सह–कोषाध्यक्षमा महेन्द्र राई र रोशन बान्तावा राई पनि सर्बसम्मत चयन भएका हुन् ।

यसैगरी, समितिको सदस्यहरुमा कला राई (इलाम), भद्रदुमी राई (झापा), डि.बी (डम्बर बहादुर)राई (उदयपुर), निश्चल राई (ललितपुर), सुखकला राई (धनकुटा), स्नेहा राई (पाचथर), चन्द्र बान्तावा राई (सुनसरी), धनीराम राई (खोटाङ) र प्रेमकला राई (भक्तपुर) चयन भएका छन् । समितिको सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मती ढंगबाट चयन भएका हुन् । पाचौं राष्ट्रिय अधिवेशनसम्म आइपुग्दा संघले सधै सर्बसम्मती ढंगबाट पदाधिकारी तथा सदस्यहरु चयन गदै आएको छ ।

संस्थाको निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आजै पद तथा गोपनियताको सपथ खुवाइएको छ । उनीहरुलाई निर्वाचन मण्डलकी संयोजक एबंम कलाकार संघका पूर्वअध्यक्ष पार्वती राईले पद तथा गोपनियताको सपथ खुवाइन् । कलाकार संघको नेतृत्व उपत्यकाबाहिर पहिलो पटक पुगेको हो । करिब एक वर्षदेखी कलाकार संघ अध्यक्ष विहीन थियो । संघ कार्यबाहकको भरमा चल्दै आएको थियो । गत फागुन १८–२० गते किरात राई यायोक्खाको धरानमा सम्पन्न १० औं राष्ट्रिय सम्मेलनबाट कलाकार संघका अध्यक्ष जनक राई महासचिब पदमा निर्वाचित कलाकार संघमा कार्यबाहक अध्यक्षको जिम्मेवारी संस्थाका उपाध्यक्ष राजुन राईलाई दिइएको थियो ।

नवनिर्वाचित अध्यक्ष रामकर राई संस्थाको उपाध्यक्ष पदमा दुई कार्यकाल विताएका थिए । किरात राई यायोक्खाको भातृ संगठन कलाकार संघको स्थापना २०६३ सालमा भएको हो । संस्थापक अध्यक्ष एबंम सर्जक जितेन राईको सक्रियतामा संघको स्थापना भएको र हालसम्म पूर्वअध्यक्ष पार्वती राई र निवर्तमान अध्यक्ष जनक राईले नेतृत्व गरिसकेका छन् । निर्वाचित पदाधिकारीसहित सदस्यहरुलाई संघकी पूर्वअध्यक्ष एबंम निर्वाचन मण्डलकी संयोजक पार्वती राईले पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई संस्थाका संस्थापक अध्यक्ष एबंम सर्जक जितेन राईले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

rai-kalakar1

सम्मेलनमा काठमाडौं, भक्तपुर, ललितपुरसहित पूर्वका पाचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, ओखलढुङगा, सोलुखुम्बु, उदयपुर गरी करिब १ सय ५० प्रतिनिधि तथा पर्यबेक्षकहरुको सहभागीता रहेको थियो । किरात राई कलाकार संघ जिल्ला कार्यसमिति उदयपुरको, किराया त्रियुवा नगर समितिको व्यावस्थापनमा गाइघाटको किराया भवनमा सम्मेलन सम्पन्न गरिएको हो । कार्यक्रमको उद्घाटन गाइघाटको पिपल चोकमा शनिबार भएको थियो । कलाकार संघ चौथो राष्ट्रिय सम्मेलन झापामा सम्पन्न भएको थियो ।

‘इतिहास बन्ने हैन, इतिहास बनाउने हो’:अध्यक्ष

कलाकार संघका नवनिर्वाचित अध्यक्ष रामकर राईले ११ बुँदे उदयपुर घोषणा पत्रलाई मुख्य एजेण्डा बनाए अगाडी बढ्ने प्रतिबद्धता जनाए । उनले अल्पकालिन र दिर्घकालिन योजनाहरुलाई पूरा गर्न सबैसंग घनिभुत छलफलबाट निष्कर्ष निकाल्दै संस्थालाई चुस्त ढंगले अगाडी बढाउने बताए । ‘संस्थाले अघि सारेका हरेक मुद्धाहरुमा सबैसंग घनीभुत छलफल गरेर मात्र मुद्धाको टुङगो लगाउछौं’ नवनिर्वाचित अध्यक्ष राईले भने ‘यसलाई मैले अवसरको रुपमा लिएको छु राम्रो काम गर्नेछौं इतिहास बन्ने हैन, इतिहास बनाउने हो ।’ उनले मातहतका प्रत्येक जिल्लाहरुमा संस्थाको सागाठानीक तथा नीतिको बारेमा प्रशिक्षण दिने कार्यक्रम ल्याउने बताए । ‘हामी चाडै नै जिल्ला जिल्लाहरुमा संस्थाको सांगाठानीक तथा नीतिको बारेमा प्रशिक्षण दिन्छौं ।’ उनले भने ।

संघको ११ बुँदे उदयपुर घोषणा पत्र सार्वजनिक

rai-kalakaar3

उदयपुरको गाइघाटमा आइतबार सम्पन्न किरात राई साँस्कृतिक कलाकार संघको तीन दिने पाचौं राष्ट्रिय सम्मेलनले ११ बुँदे उदयपुर घोषणा–पत्र समेत सार्वजनिक गरेको छ । उक्त घोषणा पत्रमा किराती समुदाय सामरिक, ऐतिहासिक, साँस्कृतिक महत्व राख्ने चिजहरु संरक्षण, सम्बद्र्धन र प्रबद्धद्र्धन गदै जाने, किराती मौलिक बाजा, भेषभुषा, संस्कार, संस्कृति सम्बन्धी प्रशिक्षण किराती क्षेत्रहरुमा सञ्चालन गदै जाने, जनजागरण सचेतनामुलक किराती संस्कृतिक पहिचानमा आधारित सांगीतिक साँस्कृतिक कार्यक्रमहरु देशव्यापी रुपमा मातृसंस्था तथा भाइचारा संस्थाहरुसंग समन्वय गरी आयोजना गदै जाने उल्लेख छ ।

यस्तै, किराती समुदायका संस्कृतिकर्मी, मन्धुमीविद्हरुको पहिचान गरी बृस्तीत विवरण (बायोडाटा) सहतिको पुस्तक प्रकाशन गर्ने, मुन्धमी विचार विमर्श श्रृखलालाई निरन्तरता दिने, किरात राई मुन्धुमविद्हरुको अवस्थाको बारे र मुन्धुमव्द्हिरुको खोजी र संरक्षणको कार्ययोजना बनाई कार्यान्वयन गदै जाने, किरात राईहरुको ऐतिहासिक पृष्ठभुमी बोकेको विभिन्न स्थान गढी थुमहरुको पहिचान तथा खोजी गरी संरक्षण सम्बद्र्धन कार्यको कार्ययोजना बनाउदै जाने उल्लेख गरिएको छ । किरात चाड साकेला उधौलीमा दिदै आएको सार्वजनिक विदा कटौतीलाई खारेज गरी सार्वजनिक विदा दिन जोडदार माग गरिएको छ ।

आसन्न १२ औं राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात जातको महलमा राई र भाषाको महलमा किरात राई जातीको आफ्नो मातृभाषा लेख्न र लेखाउन घोषणा पत्रमार्फत अपिल समेत गरेको छ । प्रदेश १ लाई किरात प्रदेश घोषणा गर, घोषणा गर उल्लेख गरिएको छ र मुन्धमी संस्कृति साकेला लगायत किरात राई साँस्कृतिक प्रदर्शनीको क्रममा किरात मौलिक संस्कृतिको उपेक्षा बन्द गर भन्ने उल्लेख गरिएको छ ।