धनकुटा: नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापतिकै कारण कांग्रेस कमजोर बन्दै गएको बताएका छन् ।

जिपि फाउन्डेसनले धनकुटामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता द्वय कोइराला र सिटौलाले सभापति शेरबहादुर देउवाले गिरोहको शैलीमा पार्टी चलाइरहेको आरोप लगाए । सभापति देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको उनिहरुले आरोप लगाएका छन् । देउवाले विधान लत्याउँदै अघि बढेर पार्टीभित्र सहमति र सहकार्यका लागि अवरोध सिर्जना भएको बताए।

देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे, ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति र रामचन्द्र पौडेल कार्यबाहक सभापति हुँदा तपाईलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाईं सभापति हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन कसले रोक्यो? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउॅन खोज्ने ?’

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले कम्युनिष्टहरुसॅग लड्नुपर्ने समयमा सभापतिकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताए। डा कोइरालाले सभापति कांग्रेसको घरमुली भएको बताउॅदै घरभित्रको फरक विचार र असन्तुष्टिको सम्बोधन गरेर सबैलाई सँगै हिडाउँने काम देउवाकै भएको पनि बताए। नेपाली कांग्रेसको इतिासमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले भने, ‘अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ति दुर्भाग्य हो।’