इटहरी: निर्माण अनुमतिको विवाद चर्किएर वरिष्ठ इञ्जिनियरले राजिनामा दिएको प्रकरण सेलाउन नपाउदै इटहरी उपमहानगरपालिकाविरुद्ध पुनः निर्माण सम्बन्धि अर्को उजुरी परेको छ ।

इटहरी २ तालतलैया छेउको शेहरा खोला किनारमा निर्माण हुदै गरेको वेट एन्ड डाइनो अम्युज्मेन्ट वाटर पार्क विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । भाटभटेनी निर्माण अनुमति दिदा बिबादमा परेको उपमहानगर तालतलैया छेउमा खोला मिचेर रिसोर्ट बनाएको विषयमा पुनः विवादमा तानिएको छ । इटहरीको वार्ड नं. २ स्थित तालतलैया क्षेत्र नजिकै बन्दै गरेको रिसोर्टले खोला मिचेर संरचना बनाएको उजुरी उपमहानगरमा परेपनि उजुरीको बेवास्ता गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

खोलाको क्षेत्राधिकार मिचेर रिसोर्ट बनाएको विषयको उजुरी यति बेला अख्तियारमा छ । मापदण्ड बिपरितको नक्सा दर्ता गराएको विषयमा समेत अख्तियारले छानबिन गर्नेछ । अन्य विषयमा तत्काल प्रतिक्रिया जनाउने उपमहानगरले यो विषयमा भने मौन बसेको छ ।

केही समय अगाडी उपमहानगरबाट इजाजत नै नलिई शेहरा खोलाको क्षेत्राधिकार मिचेर संरचना बनाएको भन्दै स्थानीय उपमहानगरमा स्थानीयहरूले मौखिक उजुरी हालेका थिए । पार्कले निर्माण मापदण्ड विपरीत खोलाबाट छोड्नु पर्ने भाग नछोड्नुको सट्टा खोला मिचेर संरचना बनाएको भनी स्थानीयले लिखित उजुरी दर्ता गराए ।

उजुरी आए लगत्तै उपमहानगरले प्राविधिकलाई पार्कबारे स्थलगत अनुगमन गर्दा नियम विपरीत अवैधानिक रूपमा संरचना बनाइएको पुष्टि भए पनि उपमहानगरले भने अझै पनि संरचना निर्माणको बिषयमा हस्तक्षेपका वा ठोस कदम चाल्न सकेको छैन । नियम विपरीत काम भइरहेकाले तत्काल निर्माण कार्य रोक्न कात्तिक १९ गते इटहरी उपमहानगरपालिकाले कम्पनीको सट्टा व्यक्तिलाई पत्र पठाएपछि रिपोर्ट निर्माणको कामले तीव्रता पाएको थियो । कम्पनीले निर्माण सुरु गरेको रिसोर्टको विषयमा व्यक्तिलाई पत्र काटेर उपमहानगरले सञ्चालक कम्पनीले झन् छिटो काम सञ्चालन गर्‍यो ।

रिसोर्ट सञ्चालक मध्ये उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष समेत रहेका भीम पौडेललाई तत्काल उपमहानगरपालिकामा उपस्थित हुन पत्र पठाए पनि कम्पनीलाई भने हालसम्म पनि उपस्थित गराउन सकेको छैन ।

कानुन विपरीतको नक्सा दर्ता

भौतिक संरचना निर्माण अनुमति दिने र अनुगमनको सम्बन्धमा इटहरीमा विवाद चुलिँदै गएको छ । भाटभटेनी डिपार्टमेन्टको भवन निर्माणमा प्रक्रिया मिचेर दिएको अनुमति दिएको सम्बन्धको विवादमा यति बेला इटहरीका प्रमुख इन्जिनियरले राजीनामा समेत दिएका छन् ।

रिसोर्टको सम्बन्धमा निर्माण गैरकानुनी भएको उपमहानगरले २०७६ कार्तिकमै प्राविधिकबाट पुष्टि भयो । राइट अफ रिभर अर्थात् खोलाको किनारबाट १०० मिटरको दुरीमा मात्र संरचना बनाउने उपमहानगरको निर्णय रिसोर्टले मिचेको देखिएको थियो ।

गैरकानुनीरुपमा संरचना बनाएको थाहा पाउँदा पाउँदै २०७६ मङ्सिर १८ गते रिसोर्टको नक्सा दर्ता गरिएको देखिन्छ । इटहरीको भवन ऐन २०७५ अनुसार कुनै पनि भौतिक संरचना बनाउनु अघि स्थानीय सरकारबाट निर्माण इजाजत लिनुपर्छ । इजाजत नलिई बनाएमा जरिवाना सहित भत्काउनु पर्ने संरचना भत्काएर उपमहानगरले दर्ता गरिदिन सक्ने प्रावधान छ ।