काठमाडौं : सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेर पुनः नयाँ उचाईमा पुगेको छ । सुन आज प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो पनि सुन एकै दिन प्रतितोला १ हजारले बढेर ७५ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

पुष महिनामा मात्रै सुनको मुल्य प्रतितोला साढे ४ हजार रुपैयाँले बढेको छ । इरान र अमेरिकाबीचको द्वन्द्वका कारण अन्तर्रा्ष्ट्रिय बजारमा नै सुनको मुल्यमा उछाल आएपछि नेपाली बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य करिब ७ वर्षयताकै उच्च भएको छ । सुन प्रति औंस १ हजार ५ सय ८० डलर हाराहारीमा पुगेको छ । यस्तै, कच्चा तेलको मूल्य प्रति व्यारेल ७० डलर पुगेको छ ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएपछि कारोबार सुनसान प्रायस् रहेको व्यसायी बताउँछन् ।