काठमाडौं : माघ ९ गते गर्न लागिएको राष्ट्रिय सभा चुनावका उम्मेदवारहरु विरुद्ध एउटा पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाविरुद्ध हिजो दिनभर उजुरी दिन आह्वान गरेको थियो । कुनै पनि प्रदेशमा उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी नआएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । १८ पदमा हुने निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी परेको छ ।  आज (मंगलबार) उम्मेदवारको मनोनयनपत्र अध्ययन गरी भोली उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता श्रेष्ठले बताए । पर्सि २४ गते उम्मेदवारलाई नाम फिर्ताको समय दिइनेछ ।  २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसैदिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ । राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गतेका लागि तय गरिएको छ ।