उदयपुर : उदयपुरको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि परिवारनै मिलेर हत्या गरेको रहस्य २ वर्षपछि प्रहरीले पत्ता लगाएको छ ।

जिल्लाको कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य पत्ता लागेको हो । २०७४ साल कार्तिक १४ गते सिम्लेस्थित जंगलमा सढेको अवस्थामा शव फेला परेको थियो । लामो अनुसन्धान पश्चात प्रहरीले हत्या भएको भन्दै गत २२ मंसिरमा देवर सुजन कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए । कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानपश्चात बुवा नैनबहादुर र दाजु मृतकका श्रीमान युवराज कार्कीलाई काठमाडौंको कपनबाट गत २३ मंसिरमा नियन्त्रणमा लिइएको डिएसपी केसीले बताए ।

अनुसन्धानका क्रममा युवराजले विवाह गरी ल्याएका संगिता विश्वकर्मा दलित रहेको थाहा पाएपछी परिवार नै मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी विवाह गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र जिल्ला अदालत उदयपुरमा आइतबार पेश गरिएको छ । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको डिएसपी केसीले बताए । मृतक संगिताको परिवारले २ वर्ष अघि नै प्रहरीमा जाहेरी दिएको थियोे । घटनापश्चात् भारतको दार्जि्लिङ पुगेका उनीहरु त्यसपछि नेपाल आएका थिए । सुराकीका आधारमा सुजन कार्की फेला परेपछि नैनबहादुर र युवराज काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ गर्नका लागि ईलाका प्रहरी कार्यालय कटारीबाटै प्रहरी खटाईएको थियो । डिएसपी केसिको सक्रियतामा हत्या भाको २ वर्ष लामो अनुसन्धानपछी प्रहरीले हत्याराहरुलाई नियन्त्रण लिन सफल भएको हो ।