धरान: धरान १५ सुवेदीटारका खानेपानी उपभोक्ताहरुले सवै घरमा मिटर जडान गर्ने भएका छन् ।

सुवेदीटारमा हाल करिव एक सय घरधुरी रहेका छन् । उनीहरुले खत्री धाराबाट २०७० सालदेखि रिर्जभ टंकी बनाएर पाइप जडान गरी खानेपानी उपभोग गर्दै आएका छन् । हाल टोलको विभिन्न स्थानमा ५ वटा सार्वजनिक धाराबाट झण्डै एक हजार व्यक्तिले पानी उपभोग गर्दे आएका छन् । आगमी दिनमा ५० हजार लिटर क्षमताको ओभरहेट टंकी निर्माण गरी प्रत्येक घरमा मिटर जडान गरी धारा वितरण गर्ने भएको छ ।

मंगलबार बम धारा खानेपानी संरक्षण तथा सरसफाई उपभोक्ता समिति बैठकबाट मिटर राख्ने विषयमा छलफल गरिएको थियो । यस परियोजनाका लागि करिव १५ लाख लागत लाग्ने डी.एस.ओ.एस.का प्राविधिक रोहित यादवले बताए । पानी उपभोक्ता संस्था दर्ता गर्ने र स्थानीय उपभोक्ता र विभिन्न निकायहरुसंग सहयोग लिएर निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको उपभोक्ता समतिका अध्यक्ष राजेन्द्र दर्नालले बताए । धरानका स्थानीय स्रोतबाट पानी उपभोग गरिरहेका ८० वटा उपभोक्ता समितिलाई डी.एस.ओ.एस.ले क्षमता अभिवृद्धि साथै विभिन्न कुरामा सहयोग गर्दै आएको छ । साथै योजना तर्जुमा र कार्यान्वयनमा पनि आवश्यक सहकार्य गर्दे आएको डी.एस.ओ.एस.का एम.एन.ई. देवीलाल पाण्डेयले जानकारी दिए ।

water

हाल नियमित पानी उपभोग गर्ने घरबाट प्रति घरधुरी मासिक १ सय पचाँस र आशिंक पानी उपभोग गर्नेहरुबाट प्रति घरधुरी ५० उठाउँदै आएको छ । मुहानमा हरियाली प्रवर्धन, सरसफाई र घेराबेरा गरिएकोले विगतका बर्षहरुभन्दा पानीको स्रोत बढेको उपभोक्ता समितिका सचिव सुनिता कार्कीले जानकारी दिइन् । धरानमा पानीको अभाव भएको महिना, माघको अन्तिम देखि जेष्ठ सम्म धरान १५ का आसपासका बस्तीहरुले पनि यसै धाराका पानी उपभोग गर्ने गरेका छन् । सबै घरधुरीबाट समयमा रकम संकलन हुन नसक्दा चाहे जस्तो सुधार गर्न नसकिएको कोषाध्यक्ष आनन्दी राईले गुनासो गरिन् । अब घर घरमा मिटर जडान गरिएपछि उपभोक्ताहरुलाई धेरै सुविधा हुने साथै सजिलै अनि धेरै रकम संकलन हुन सक्ने डी.एस.ओ.एस.का सामाजिक विज्ञ मोहन श्रेष्ठले जानकारी गराए ।