काठमाडौं : सरकारले अमेरिका-इरान तनावका कारण खाडी मुलुकमा कार्यरत् नेपाली श्रमिक समस्यामा परे तत्काल उद्धार गर्न तयार रहेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्यपूर्वमा देखिएको तनावलाई सरकारले नजिकबाट नियालिरहेको र केही समस्या देखिए तत्कालै समाधान खोजिने बताए ।

‘खाडीमा रहेको नेपाली श्रमिक समस्यामा परे पूरै सरकार उद्धारमा केन्द्रित हुनेछ’-उनले भने । मध्यपूर्वी क्षेत्रमा तनाव देखिनेबित्तिकै आफूले पराराष्ट्रमन्त्रीसँग यस विषयमा छलफल गरेको जानकारी दिँदै उनले परराष्ट्रमार्फत् सम्बन्धित मुलुकमा रहेको कूटनीतिज्ञलाई चनाखो हुन आग्रह गरिएको बताए ।

‘मध्यपूर्वको अवस्था बुझ्नका लागि परराष्ट्रसचिवस्तरीय टोली बनाएर पलपलको खबर लिइरहेको छौं । अप्ठ्यारो अवस्था आए कसरी उद्धार गर्ने भन्ने विषयमा पनि छिट्टै टुंगोमा पुग्नेछौं’-उनले भने ।

परराष्ट्र मन्त्रालयको अगुवाइमा श्रम, गृहलगायत सरोकारवाला मन्त्रालयसँगको समन्वयमा आवश्यक टोली बनाउने तयारी भइरहेको उनले जानकारी दिए । श्रम र परराष्ट्रसचिवस्तरमा पनि नियमित संवाद भइरहेको उनको भनाइ थियो ।

खाडीका मुलुकमध्ये साउदी अरबमा करिब चार लाख र कतारमा तीन लाख ५० हजार बढी नेपाली कार्यरत् छन् । यस्तै, युएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेका बताइएको छ ।