धरानः पव्लिक हाईस्कुल धरान १२ मा अभिभावक भेलाले नयाँ व्यवस्थापन समिति चयन गरेको छ ।

शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा १ वमाजिम २ महिलासहित ४ जना सदस्यहरुको छनौट गर्ने व्यवस्था भए बमोजिम छनौट गरिएको हो । भेलाले विद्यार्थीहरुको वास्तविक अभिभावकहरु मध्येबाट सर्वसम्मत अलिम अन्सारी, विवेक राई, श्याम कुमारी तामाङ्ग (श्रेष्ठ) र निर्मला अधिकारी (कट्वाल) छनौट गरेको हो ।

छनौट भएका ४ जना सदस्यसहित समितिमा सम्बन्धित वडाका वडाध्यक्ष, प्रधानाध्यापक र शिक्षक प्रतिनिधि पदेन सदस्य रहनेछन् । उक्त ७ जनाको समितिले जग्गादाता र चन्दादाता मध्येबाट १ जना र बुद्धिजिविहरु मध्येबाट १ जना मनोनयन गर्नेछ । उक्त ९ जनाको समितिले आफुहरुमध्येबाट अध्यक्ष छनौट गर्ने प्रावधान रहेको स्कुलका प्रधानाध्यापक ईन्द्रमोहन झाले जानकारी दिए ।

public-schol

हाल हरिबहादुर कार्कीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिको कार्यकाल यही पुष २९ गते समाप्त हुनेछ । त्यस पछि नयाँ समितिको पदावधि शुरु हुने छ । समितिले विद्यालयको पठनपाठन, व्यवस्थापन र भौतिक विकास निर्माणको कार्यलाई चुस्त दुरुस्त बनाउन भुमिका निर्वाह गर्नेछ । विद्यालयमा सरल, सहज प्रजातान्त्रिक विधि अनुरुप व्यवस्थापन समिति गठन भएको धरान उपमहानगरपालिका शिक्षा, यूवा, तथा खेलकुल महाशाखा अधिकृत मनोज भट्टराईले वताए ।

पव्लिक हाईस्कुल २००३ स्थापना भएको धरानको सवैभन्दा पुरानो विद्यालय भएको र यसका पुर्व विद्यार्थी संघले धेरै सहयोग गरिरहेको बताउदै व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले नमुना विद्यालय महत्वपूर्ण भुमिका निर्वाह गर्ने धरान १२ का वडाध्यक्ष टंक राईले विश्वास व्यक्त गरे । प्रविधिक विषयहरु समेत पठनपाठन हुने यस विद्यालयमा विद्यार्थी करिब १९ सय छन् भने ७६ जना शिक्षक कर्मचारी रहेका छन् ।

प्रारम्भिक बाल विकास केन्द्रमा आउने बालबालिकाहरुका लागि खेल उद्यान र टाढाबाट आउने विद्यार्थीहरुका लागि स्कुल बसको समेत सुविधा छ । हिजोका दिनहरुमा निजि विद्यालय प्रतिको आकर्षण बढ्दै गएपनि आज भोली शैक्षिक गुणस्तर, शैक्षिक व्यवस्थापन राम्रो भएको विद्यालयमा विद्यार्थीैहरुको चाप बढ्दै गएको छ ।