झापा: झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीमाथि गम्भिर आरोप लगाएका छन् ।

आज बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गिरीले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन २० करोड रुपैयाँ घुस मागेको प्रसाईले आरोप लगाएका छन् । झापामा रहेको बिएण्डसी कलेजका सञ्चालक प्रसाईले गिरीले घुस मागेको आरोप लगाए पछि माहौल तातिएको छ ।

आफु मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेको र गिरीले सोही दिन बेलुकी एउटा होटलमा बोलाएर २० करोड रुपैया घुस मागेको दावी गरेका छन् । ‘सम्बन्धनका लागि निवदेन लिएर आयोगको कार्यालयमा गएको थिएँ, उहाँले (उपाध्यक्ष गिरी) ले त्यही दिन बेलुका भेटुम भन्नुभयो,’ प्रसाईले पत्रकार सम्मेलनमा भने, ‘बेलुका उहाँले पैसा माग्नु भयो, म त्यत्रो पैसा दिन सक्दिनँ भनेर उठेर हिडें।’

पत्रकार सम्मेलनमा प्रसाईंले बाँडेको प्रेस विज्ञप्तिमा भने घुस बारे केही उल्लेख गरिएको छैन। नगद रकम दिन नसके मेडिकल कलेजको १० प्रतिशत शेयर आफ्नो नाममा गरिदिन आग्रह गरेको समेत उनले सुनाए। पत्रकार सम्मेलनमा बोल्दै जाँदा प्रसाईंले २० करोड मागेको बताएका थिए ।

आरोप कपोलकल्पित हो: गिरी

बिएण्डसीका सञ्चालक प्रसाईले २० करोड घुस मागेको आरोप लगाएका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उक्त आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् । प्रसाईले घुस मागेको आरोप लगाएको केही समयपछि गिरीले पनि पत्रकार सम्मेलन गर्दै प्रसाईले आफ्नो मानहानी गरेकाले कानुनी उपचार खोज्ने पनि बताए । ‘ममाथिको आरोप सुनेर आश्चर्यमा परे, कपोलकल्पित आरोप हो, यसमा कुनै सत्यता छैन,’उपाध्यक्ष गिरीले भने ।

उनले प्रसाईलाई विकृत मनस्थिति भएको व्यक्तिको संज्ञा दिदै आफू मंसिर १५ मा द्धारिका होटल नै नगएको दाबी गरे । प्रसाईसँग भेट पनि नभएको जिकिर गर्दै गिरीले प्रसाईलाई आरोप पुष्टि गर्न चेतावनी दिए । उनले भने, ‘यो आरोप पुष्टि गर्न चेतावनी दिन्छु ।’