धरान : रिक्त रहेको पदाधिकारी, तलब वृद्धिलगायत विभिन्न माग राखेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले दुई दिनदेखि दबाबमुलक धर्ना गरिरहेका छन् ।

प्रतिष्ठानको उपकुलपति कार्यालयअघि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा फ्याकल्टीहरुले मंगलबारदेखि एक घण्टा धर्ना दिइरहेका हुन् । उनीहरुले बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । दबाबमुलक खबरदारी धर्ना भएकोले उपचार सेवामा असर नभएको अध्यक्ष डा.विष्णु पोखरेलले जानकारी दिए । सिनेट बैठक नजिक आइरहेकोले प्रतिष्ठानको हितमा राखिएको आफुहरुको मागको सुनुवाई हुनुपर्ने भनेर खबरदारी धर्ना गरिएको उनले बताए ।

शिक्षक कल्याण समाजले रिक्त रहेको पदाधिकारीहरुको नियुक्ती चाडो गरेर प्रतिष्ठानलाई व्यवस्थितरुपमा अघि बढाउन सरकार गम्भीर हुनुपर्ने माग राखेका छन् । प्रतिष्ठानमा हाल उपकुलपति र रजिष्ट्रार पद रिक्त छ । रेक्टर डा.गुरु खनालले नै उपकुलपति र रजिष्ट्रारको पनि जिम्मेवारी सम्हालिरहेका छन् । ‘सरकारले वीपी प्रतिष्ठानलाई संवेदनशील भएर हेरेको जस्तो लागिरहेको छैन,’अध्यक्ष पोखरेलले भने ।

bp-1 2

यस्तै, फ्याकल्टीहरुले नेपाल सरकारले वृद्धि गरेअनुसार कम्तीमा १८ प्रतिशत तलब अनिवार्यरुपमा वृद्धि गर्न पनि माग गरेको छ । तलबवृद्धिको दीर्घकालिन र स्थायी समाधान नखोजेकै कारण दक्ष फ्याकल्टीहरु पलायन भइरहेको समाजको भनाई छ । यस्तै, २ बर्षदेखि रोकिएको नियमित बढुवा पनि तत्काल प्रक्रिया शुरु गर्न, स्वच्छ पिउने पानी व्यवस्था गर्न, फोहोर मैलाको उचित व्यवस्थापन गर्न र प्रतिष्ठानको खस्कदै गएको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न पनि समाजले माग गरेको छ । साथै, सिनेट वा कार्यकारिणी समितिमा फ्याकल्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरु समाजबाट सिफारिश हुने व्यवस्था गर्न पनि समाजले माग गरेको छ ।