काठमाडौं : सत्तारुढ नेकपामा प्रतिनिधिसभाको उम्मेद्वार चयनका लागि २ अध्यक्ष आ–आफ्नो अडानमा कायम रहेका बेला उपसभामुख शीवमाया तुम्बाहाङफेले पनि आफ्नो दाबी नछाडेपछि साझा उमेद्वार चयन गर्न सकस परेको छ ।

संसद बैठक स्थगीत गरी आन्तरिक छलफल अघि बढाएपनि यो बिचमा सभामुखको उम्मेद्बार चयनमा सहमती बन्न नसक्दा आइतबारको संसद बैठक पनि प्रभावित हुने संभावना बढेको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुवासचन्द्र नेम्बाङ र अर्का अध्यक्ष पुष्प कमल दाहालले अग्नी सापकोटालाई भावी सभामुखको रुपमा अघि सारेका छन् । उपसभामुख शीवमाया तुम्बाहाङफेका विषयमा पनि माथिल्लो स्तरको लबिङ सुरु भएपछि दुबै अध्यक्षलाई अफ्ठ्यारो परेको हो । यद्यपी सहमतीका लागि प्रयास जारी रहेको नेताहरुले बताएका छन् । महासचिव बिष्णु पौडेलले आइतबारको संसद बैठक अगावै सभामुखको उम्मेद्वार चयन हुने दाबी गरे । त्यसका लागि आज र भोलि दुई अध्यक्ष आन्तरिक तथा शीर्ष तहको छलफलमा जुट्ने उनले बताए ।

नेकपाले सभामुखको उमेद्वार चयन गरेसँगै संसद सचिवालयले निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । प्रतिनिधिसभामा नेकपाको सुबिधाजनक बहुमत रहेकाले सभामुखमा जित हुने निश्चित छ । तर निर्वाचन प्रक्रिया सुरु हुनु अघि नै उपसभामुख तुम्बाहाङफेले पदबाट राजिनामा दिनुपर्ने बाध्यकारी व्यवस्था छ ।