धरान: धरान १ स्थित भिजन फिटनेसको आयोजनामा तेस्रो मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको तयारी भएको छ ।

उद्योग वाणिज्य संघ सुनसरीको हलमा यही पुष २६ गते शनिवार प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ५५ केजी, ६० केजी र ६५ केजी तौल समुहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र हात पार्नेछ भने दोस्रो पुरस्कार ८ हजार, तेस्रो ५ हजार, चौथो ४ हजार र पाचौले ३ हजार रुपैया र प्रमाणपत्र प्राप्त गर्नेछन् । तौल समुह विजेता तथा उपविजेतालाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको विजेतालाई तेस्रो नेपाल च्याम्पियन शारीरिक सुगठन प्रतियोगितामा सहभागिता गराइने भिजन फिटनेसका प्रोपराइटर केशव श्रेष्ठले जानकारी दिए । फिटनेसका सदस्यहरुलाई प्रोत्साहन गर्न र शारीरिक सुगठनलाई खेलको रुपमा विकास गर्न प्रतियोगिताको सुरुवात गरिएको श्रेष्ठको भनाई छ । यसअघि भिजन फिटनेसले मिस्टर धरान प्रतियोगिताको आयोजना गरिसकेको छ । धरान १ पृथ्वीपथमा रहेको फिटनेसमा करिव एक सय जना सदस्य रहेको छ । प्रतियोगितामा मुख्य निर्णायक एशियन जज शिव मुखिया, राष्ट्रिय जज विक्रम लिम्वु, केशव श्रेष्ठ, सिता श्रेष्ठ र दिनेश सिंघक लिम्वु रहनेछन् ।