उदयपुर: उदयपुरको २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

बुधबार साँझ ५ बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका १० स्थितमा गाईघाटबाट चुहाडे तर्फ जादै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा त्रियुगा नगरपालिका ७ का २० बर्षीय सिमा दनुवारको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, घाईते भएका २० बर्षकी मन्दिरा बस्नेत, ६० बर्षीय गोबिन्द कार्की र ३७ बर्षीय मञ्जु दनुवारको उपचार भईरहेको छ । प्रहरीले अटो चालक त्रियुगा नगरपालिका ४ का २८ बर्षीय होम बहादुर बि.क.लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, बुधबार साँझ पौने ६ बजेको समयमा उदयपुरको ताप्ली गाउँपालिका २ धपेनीस्थित भित्री सडक खण्डमा रामपुरझिल्केबाट कटारीतर्फ आउँदै गरेको मे १ ज २६६२ नंबरको बोलेरो गाडी आफैं अनियन्त्रित भई सडकबाट अंदाजि ५० मिटर तल खसेको थियो । दुर्घटनामा ताप्ली गाउँपालिका २ लेकगाउँका अंदाजि २६ को मिलन राई र झापाको बिर्तामोडका करिब ३३ बर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका उदयपुरको ताप्ली गाउँपालिका २ लेकगाउँका अंदाजि २७ बर्षीय बाबु राई, ४० बर्षकी रसमाया राई, अंदाजि ३२ बर्षीय मोतिलाल राई उपचारको लागी बिराटनगर लगिएको प्रहरीले जनाएको छ । साथै बोलेरो चालक सोही गाउँपालिका १ ओख्लेका अंदाजि २१ को कोमल राज मगरको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।