धरान: जटिल रोग क्यान्सरको भारतको दिल्लीमा उपचार गराइरहेका धरानका पुर्वमेयर ध्यानबहादुर राईलाई आज नेपाल ल्याइने भएको छ ।

पुर्वमेयर राईको उपचारमा संलग्न चिकित्सकको सुझाव अनुसार नै उनलाई नेपाल फकाइने भएको परिवारजनले जानकारी दिएका छन् । पुर्वमेयर राईका भाई युवराजले सामाजिक सञ्जाल फेसबुकमार्फत चिकित्सकको सल्लाह र विरामीको पछिल्लो अवस्थाको आधारमा आज नेपाल ल्याउन लागिएको जानकारी दिएका हुन् । उनको फेसबुक पोष्टले पुर्वमेयर राईको अवस्था थप जटिल एवं सिकिस्त भएको संकेत गरेको छ ।

हिजो गरिएको पोष्ट अनुसार पुर्वमेयर राईलाई हवाईमार्गबाट नेपाल ल्याउन सम्भव छैन । त्यसैले सडकको प्रयोग गरि एम्बुलेन्समार्फत ल्याइदैछ । ‘सत्यलाई स्वीकार्नु बाहेक हामीसँग अर्को विकल्प छैन, यो परिस्थितिलाई यहीरुपमा स्वीकार गरिदिनुहुन सविनय अनुरोध गर्छु । बाँकी भेटमा,’भाई युवराजले फेसबुकमा लेखेका छन् ।

पुर्वमेयर राईलाई सहयोग गर्न गठन भएको समितिका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार दिल्ली पश्चात थप उपचार नेपालमै गर्ने गरि पुर्वमेयर राईलाई ल्याउन लागिएको हो । डिस्चार्जको प्रक्रिया पुरा गरेर आज दिउँसो ३ बजे दिल्लीबाट काठमाण्डौंकोलागि प्रस्थान हुने पनि उनले जानकारी दिए । ‘एम्बुलेन्समार्फत उहाँलाई काठमाण्डौं ल्याइदैछ । एम्बुलेन्समा एक जना मेडिकल ब्वाई पनि हुनेछन् । उहाँसँग श्रीमति र ३ जना दाजुभाई छन्,’श्रेष्ठले भने ।

पुर्वमेयर राई विगत एक बर्षदेखि क्यान्सरको उपचार गर्न दिल्लीको राजिव गान्धी क्यान्सर हस्पिटलमा छन् । उनलाई क्यान्सर रोगीमा पनि अत्यन्तै कम व्यक्तिलाई हुने क्यान्सर भएको छ । किमोथेरापी पछि उनको शरीरमा थप धेरै समस्या तथा जटिलताहरु आएको थियो । २०४६ सालको जनआन्दोलनपछि २०४९ मा भएको स्थानीय निकाय निर्वाचनबाट उनी धरान नगरपालिकाको मेयरमा चुनिएका थिए । तत्कालिन नेकपा एमालेमा आवद्ध उनी पछिल्लो समय समाजवादी पार्टीमा आवद्ध छन् ।