सुनसरी: सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को दोश्रो खेलमा कर्णाली प्रदेशलाई प्रदेश नम्बर २ ले ८ विकेटले पराजित गरेको छ । हारपछि कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

अब शुक्रबार हुने प्रदेश नम्बर २ र नेपाल पुलिस बीचको खेलमा विजेता हुने टिमले सेमीफाइनलमा स्थान पक्का गर्नेछ । पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत समुह ‘सी’ बाट प्रदेश नम्बर ३ तथा समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन् ।

इनरुवा रंगशालामामा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै कर्णालीले दिएको १३० रनको लक्ष्य प्रदेश नम्बर २ ले मात्र दुई विकेट गुमाएर २२.५ ओभरमा पुरा गर्यो । प्रदेश २ को लागि हसिम अन्सारीले अविजित ८० रन तथा सुरज पटेलले अविजित ३३ रन बनाए । हसिमले ७३ बलमा ११ चौका र १ छक्का तथा सुरजले ५० बलमा १ चौका र १ छक्का प्रहार गरे । कर्णालीको लागि अनुज चुनारा र दिनेश अधिकारीले समान १ विकेट लिए ।

Player-of-the-Match-Hasim-A

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको कर्णाली प्रदेशले ३१.५ ओभरमा १२९ रन बनाएको थियो । कर्णालीको लागि कप्तान रविन्द्र जंग शाहीले सर्वाधिक ४६ रन बनाए । उनले ६८ बलमा ६ चौका र १ छक्का प्रहार गरे। दिवान पुनले २३ तथा प्रकाश जैसीले १५ रन बनाए । प्रदेश२ को बलिंगमा कप्तान मेहबुब आलमले सर्वाधिक ३ विकेट लिए । देब्रे हाते स्पिन गरेका आलमले ४.५ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए । आदील अन्सारी, हरिशंकर शाहले समान २ विकेट लिए भने कुमार थापाले १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच हसिम अन्सारी चुनिए।