धरान: आवश्यक योजनाको प्रस्तावना तयार गर्ने, वडामा पेश गर्ने र स्वीकृत कार्यक्रमलाई कार्यान्वयन गर्ने अधिकार सहित धरान उपमहानगरपालिका १२ नम्बर वडामा दलित विकास समिति गठन भएको छ ।

पुष २४ गते वडा कार्यालयमा सम्पन्न भएको वडा स्तरीय भेलाले वडा सदस्य शान्ति तिखत्रीको संयोजकत्वमा ९ सदस्यीय वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रामप्रसाद खाती, सचिव पुनम परियार, सहसचिव देव बासफोर र कोषाध्यक्षमा बिना शिवा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा करन मरिक, केदर परियार, सुरेन मरिक र सुमना बराइली चयन भएका छन् ।

दलित विकास समिति धरान उपमहानगरपालिकाले सबै वडाहरुमा दलित विकास वडा समिति गठन कार्यक्रम अन्तर्गत आयोजना गरेको १२ नं. वडा स्तरीय भेलामा कार्यपालिका सदस्य समेत रहेको समितिका संयोजक किशोर परियारको अध्यक्षतामा सम्पन्न भएको हो । दलित विकास समितिको औचित्य, आवश्यकता र जिम्मेवारीका विषयमा सदस्यसचिव तारा लामगादेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा १२ नम्बर वडा सदस्य ब्रह्मज्ञ भट्टराईले समाजमा सबैभन्दा पछि पारिएका दलित समुदायहरु वडा स्तरसम्म संगठित हुनु र वडाका कार्यक्रमलाई सहयोग गर्नु अति सह््रानीय कार्य भएको बताए । भेलामा १२ नं. वडा अध्यक्ष टंक राई, वडा सचिव खगेन्द्र रोइला, मिजार सेवा समाजका अध्यक्ष धनबहादुर हमाल लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा भेला आयोजनाको संयोजक तथा दलित विकास समितिका सदस्य रामधारी बासफोरले स्वागत मन्तव्य राखेका थिए भने समितिकी सदस्य शकुन्तला भुषालले कार्यक्रम सञ्चालन गरेकी थिइन् । भेलापश्चात् वडा समितिका पहिलो बैठक बसेको सचिव पुनम परियारले जानकारी दिएकी छन् । वडाका दलित समुदायका समस्या समाधान गर्न तथा दलित समुदायको उत्थान र विकासका लागि योजनाबद्ध रुपमा काम गर्न समिति क्रियाशील भएर लाग्ने दलित विकास वडा समितिका अध्यक्ष शान्ति तिखत्रीले जानकारी दिएकी छन् ।