कोशीटप्पु : सप्तकोशी नदि आसपास पाइने पानी चराको गणना शुक्रबार देखी गरिने भएको छ । नेपालको पहिलो रामसारमा सूचिकृत सिमसार क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्षसहित आसपासका क्षेत्रको चरा गणना गरिने छ ।

देशभरमा जलाशयमा पाइने चराहरुको गणना कार्य सोमबारबाट सुरु भएको छ । सोही अभियान अन्तर्गत कोशीटप्पुमा भाली शुक्रबारबाट सुरु हुनेछ । सञ्जिव आचार्यको नेतृत्वमा ३० जनाको टोलिले चरा सम्बन्धि कोशी टप्पुसहित पूर्वका प्रमुख सिम क्षेत्रहरुको अवलोकनसहित गणना गर्नेछन् ।

आचार्यले शुक्रबारबाट तीन वटा १०-१० जनाको टोली बनाएर चतरा क्षेत्रबाट गणना सुरु गरिने जानकारी दिए । दुई वटा टोलीले सप्तकोशीमा डुंगाबाट र अर्कोटोलीले पैदल मार्फत गणना गर्ने छन् ।

टोलीले पहिलो दिन चतरादेखि राजाबाससम्म, दोस्रो दिन राजाबासदेखि कोशी ब्यारेजसम्म, तेस्रो दिन कोशी टप्पुको पश्चिमी क्षेत्र भागलपुर र कमलपुर क्षेत्र, चौथौ दिन चिमडीको बर्जुताल त्यसपछि तरहरा, उर्लाबारी र बेतना सिमसार क्षेत्रमा गएर गणना गर्ने कार्ययोजना छ ।

चरा गणनाको क्रममा पानीमा बस्ने स्थानीय र बसाई सराई गरेर आउने चराको प्रजाति र त्यसको संख्या गणना गरिने छ । कोशीमा १ सय ९० प्रजातिका पानीमा बस्ने चराहरु छन् । तर गणनाको समयमा भने ६३ प्रजातिभन्दा बढी देखिएका छैनन् ।

पूर्वमा २० हजार बढी चरा देखिने गरेको जानकारी दिदै कोशी टप्पुको सिमसार क्षेत्र र बर्जुताल मुख्य बासस्थान हो ।