धरान: चीनसँगको नाका संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरी वलको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गर्ने तयारी गरिएको छ ।

सीमा सुरक्षा तथा निगरानीको लागि सरकारले किमाथांकामा बिओपी स्थापनाको तयारी गरेको हो । सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर)को कमाण्डमा ३५ जनाको टोली बिओपीमा रहनेछ । बिओपीको टोलीलाई आजै दिउँसो सशस्त्रको पकलीस्थित पुर्वक्षेत्रीय कार्यालयबाट नेपाली सेनाको हेलिकप्टरबाट किमाथांका पठाउने तयारी गरिएको थियो । तर, मौषम खराब भएर सेनाको हेलीकप्टर आउन नसकेपछि बिओपी टोलीलाई पठाउन नसकिएको सशस्त्रका डिआइजी नगेन्द्र थापाले जानकारी दिए । ‘आज मौषम खराब भएकोले सेनाको हेली आउन सकेन, अब आइतबारलाई कार्यक्रम सारिएको छ,’डिआइजी थापाले भने ।

डिआइजी थापाका अनुसार सरकारले १ सय १४ वटा बिओपी स्थापना गर्ने निर्णयअनुसार हिमाली क्षेत्र किमाथांकामा पनि राख्न लागिएको हो । अत्यन्तै हिमाली क्षेत्रमा बिओपी राखिन लागेको यो नै पहिलो हो । चीन र भारतलाई जोड्ने जोगबनी–किमाथांका सडक छोटो दुरी हुने भएकोले यो नाकालाई अत्यन्तै महत्वका साथ हेरिएको छ । अहिले जोगवनी र किमाथांका जोड्ने सडक प्राथमिकताको साथ अघि बढीरहेको छ । किमाथांका नाका १ नं प्रदेशको लागि पनि व्यापारिक, आर्थिक दृष्टिले महत्वपुर्ण छ ।

संघीय सरकारले निर्णय गर्नुअघि झण्डै ७ महिनाअघि १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलगायतको टोली पनि स्थलगत निरीक्षणको लागि किमाथांका गएका थिए । त्यसबेला स्थानीय जनप्रतिनिधिहरुसँग छलफल गरेपछि विओपीको लागि जग्गा खोजिएको छ । उक्त जग्गाबारे जिल्ला सुरक्षा समिति, प्रदेश सुरक्षा समितिमार्फत सरकारमा फाइल पुगिसकेको छ भने मन्त्रीपरिषदबाट निर्णय हुन मात्र बाँकी छ । मन्त्रीपरिषदबाट निर्णय भएलगत्तै विओपीको भौतिक पुर्वाधार सम्पन्न बनाइनेछ । हाल भने विओपी भाडाको घरमा रहनेछ ।