इटहरी: विगत ४० बर्षदेखी फलामे साङ्लोमा बाँधिएका इटहरी २० का डिकबहादुर खडकाको उद्दार गरिएको छ ।

अपांगता परिचयपत्र वितरण गर्न घरदैलोमा पुग्ने क्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले साङ्लोमा बाँधिएको देखेपछि खड्काको उद्दार गरेकी हुन् । इटहरी २० तरहराका ५३ बर्षीय खडकालाई साङ्लोबाट मुक्त गरी उपचारको लागि अस्पताल लगिएको छ । उपमेयर गौतमले शुक्रबार नै खड्कालाई उद्दार गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारको लागि पठाएकी हुन् ।

खड्कालाई उद्दार गरेर उपमहानगरका स्वास्थ्यकर्मीको टोलीसहित उपमेयरको गाडीमा राखेर खड्कालाई स्वास्थ्य उपचारको लागि धरान लगिएको थियो । 'परिवारले सक्ने जति उपचार गरे पनि सुधार भएको रहेनछ,' गौतमले भनिन्,'अपांगता परिचयपत्र वितरण गर्न जादा देखे, त्यसपछि उपमहानगरले नै उपचार गराउने पहल लिएको हो ' खडका मानसिक विरामी हुन् । घरका सदस्यहरुको थुप्रै काम हुने र अलमल हुने भएकोले उनलाई बाँधेर राख्न बाध्य भएको परिवारजनको भनाई छ ।

खड्कालाई २०३६ सालमा लडेर वेहोस भएपछि मानसिक समस्या देखिएको थियो । खडकाको निःशुल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।

sanglo1