इनरुवा: सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा प्रदेश नम्बर–२ लाई ४६ रनले पराजित गर्दै पुलिस समुह ‘बि’ को विजेताको बन्दै सेमीफाइनल प्रवेश गरेको हो । सेमीफाइनल प्रवेश गर्ने पुलिस तेश्रो टिम हो । यस अघि प्रदेश नम्बर–३ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन् । खेलमा नेपाल पुलिस क्लबले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर–२ ले ४२.२ ओभरमा १ सय ३७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर–२ को लागि विशाल सुश्लिंगले सर्वाधिक ८० रन बनाए। उनले १ सय १२ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। हरि शंकर शाहले १८ तथा हसिम अन्सारीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसको बलिंगमा दिपेन्द्र ऐरी र ललित भण्डारीले समान ३ विकेट लिए । पवन सर्राफले २ तथा सागर ढकाल र ललित राजबंशीले समान १ विकेट लिए ।

Kumar-Thapa-5-WIckets

यस अघि टस जितेर प्रदेश २ ले बलिंग रोजेपछि ब्याटिंग गरेको पुलिसले ४८.१ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनाएको थियो । पुलिसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरीले सर्वाधिक ५० रन बनाए । ऐरीले ६४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अमित श्रेष्ठले ३७, अनिल साहले १९ तथा राशिद खानले १६ रन बनाए । प्रदेश नम्बर–२ को लागि लेग स्पिनर कुमार थापाले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै ३२ रन खर्चिए । राहुल प्रताप सिंह र विवेक यादवले समान २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पुलिसका दिपेन्द्र ऐरी चुनिए । प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को खेलहरु शनिवार सुरु हुनेछ । शनिवार मलेसिया राष्ट्रिय क्रिकेट टिम र सुदुर पश्चिम प्रदेश बीच खेल हुनेछ ।