धरान : २० औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. ६ र वडा नं. १८ विजयी भएका छन् । विजयी दुबै टोली प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रबार धरान रंगशालामा भएको पहिलो खेलमा वडा नं. ६ ले वडा नं. ७ लाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्यो । ६ नं. वडाको तर्फबाट अनिष पुलामीले दुई गोल गरे भने निशान मगर, अजय विष्ट, किरण मगर, अर्जुन लिम्बू र विकास परियारले एक/एक गोल गरे । खेलको म्यान अफ द म्याच ६ नं. वडाका अनिष पुलामी घोषित हुँदै नगद १५ सय र मेडल प्राप्त गरे । ६ नं. वडाले क्वाटर फाइनलमा १६ नं. वडासँग प्रतिष्पर्धा गर्नेछ ।

शुक्रबार नै धरान रंगशालामा भएको दोस्रो खेलमा वडा नं. १८ ले वडा नं. १ लाई टाइब्रेकरमा पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ । १८ नं. वडाका लागी विनोद राई र विशाल राईले एक, एक गोल गरे । २–० को अग्रता कायम गरेको १८ नं. वडाले खेल जित्न टाइब्रेकर पुग्नु परेको थियो । १ नं. वडाका अनिल सुनामले २ गोल गरी खेल बराबरी पुर्याएको  थियो । टाइब्रेकरमा १८ नं. वडा ५-३ गोल अन्तरले विजयी भयो । १८ नं. वडाले क्वाटर फाइनलमा ८ नं. वडासँग प्रतिष्पर्धा गर्ने आयोजक गोधुली क्लबका अध्यक्ष अशोक राईले बताए । प्रतियोगिताको विजेताले रनिङ कपसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले ११ हजार पाउनेछ भने उदयीमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीले भने ७ हजार ५ सय पाउनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो माघ ४ गते हुनेछ ।