मोरङ : प्रदेश १ सरकारले स्वस्थ जीवन प्रवर्द्धन अभियान अन्तर्गत आउँदो फागुन १ गतेदेखि प्रदेशका सबै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाउने भएको छ ।

त्यस्तै प्रदेशका सबै सामुदायिक तथा निजी विद्यालयहरुमा पत्रुखानाको प्रयोगमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ । विराटनगरका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा संचालकहरुसँगको छलफलमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग रोक्ने र विद्यालयभित्र पत्रुखाना प्रयोगलाई पतिबन्ध लगाईने बताए । कानुन बनेको लामो समय भइसकेको अवस्थामा पनि ऐन कार्यान्वायनमा नगएकाले त्यसलाई फागुन १ गतेदेखि कडाईकासाथ कार्यान्वायनमा लैजाने मन्त्री घिमिरेले बताए ।

स्वास्थ्य जीवन प्रवर्द्धन अभियान अन्तर्गत प्रदेश १ मा २० वर्ष उमेर समूहमाथिका सबैको ब्लड प्रेस जाँच गर्ने, एक पटक परीक्षणपछि उनीहरुलाई पटक पटक परीक्षणका लागि प्रोत्साहित गर्ने योजना पनि प्रदेश सरकारको छ । त्यस्तै चिनी रोग र क्यान्सको परिक्षणलाई पनि नियमित गरी हरेक घरमा यो अभियान र्पुयाउने सामाजिक विकास मन्त्रालयको योजना रहेको मन्त्री घिमिरेले जानकारी दिए । विद्यालय संचालकहरुसँग भएको छलफलसँगै माघ ३ गते सुर्ती तथा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्ने बारेमा अभियानको सुरुवात गर्ने तयारी भएको छ ।

समस्यामा विद्यालय संचालक

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको छलफलका क्रममा विराटनगरका निजी विद्यालय संचालकहरुले सुर्ती, चुरोट तथा गुट्खाका कारण निकै समस्या भएको सुनाए । यस्तो पदार्थको सेवनबाट बालबालिकालाई जोगाउनै मुस्किल भएको उनीहरुको भनाई छ । सेन्टजोसेफका रोहित थपलियाले विद्यालयको १ सय मिटरमा कुनै पनि सुर्ती तथा सुर्तिजन्य पदार्थ बिक्री नगर्न भन्दासमेत व्यवसायीले नटेर्ने गरेको गुनासो गरे । प्रदेश सरकारले नियमन र नियन्त्रण गर्ने हो भने वर्ष भरी नै ऐनले व्यवस्था गरेअनुसार सार्वजनिक स्थलको नियमित अनुगमन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याए ।

कलेज संचालक अमित ढकाल र सिएम रिजालले विद्यालय आसपासका एक सय मिटरमा सुर्ती, चुरोट र मादक पदार्थ बेच्नै नपाउने कानुनी व्यवस्था भए पनि अहिले बिक्री वितरण भइरहेको बताए । कलेज र विद्यालयसँग जोडिएका चिया पसलमा विद्यार्थीहरु स्कुल तथा कलेज ड्रेसमै गएर गाँजासमेत सेवन गर्ने गरिएको छलफलको क्रममा कुरा उठेको छ । अब चिया पसल र किराना पसलमा कुनै पनि सुर्तिजन्य पदार्थ बिक्री बितरण गर्न नपाउने व्यवस्था कडाईका साथ कार्यान्वयनमा ल्याउन सहभागीले सुझाव दिएको थिए ।

पत्रकार सुवास कार्की, होस्टल संचालक बिक्रम देवले ट्राफिक चोक आसपासका चिया पसलहरुमा साना उमेरका विद्यार्थीहरु चुरोट सेवन गर्ने धेरै देखिने गरेको बताए । होस्टल संचालक देवले सबैभन्दा धेरै विकृती होस्टलहरुमा हुने गरेको स्वीकार गरे । मदिरा, चुरोट सेवन गर्ने तथा होहल्ला गरेर बिकृती फैलाउने काम होस्टलहरुले गर्ने गरेको उनको आरोप छ । पोखरीया माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले सुर्तीजन्य पदार्थको कारोबार र ओसारपासारमा बालबालिकाको प्रयोग हुने गरेको भन्दै त्यो रोक्ने वातावरण बनाउनु पर्ने बताए । छलफलका क्रममा शिक्षकहरु नरहरी कोईराला र गीता ढकालले विद्यालयमा चुरोट किन्न नजानु भनेर सिकाए पनि अविभावकले बालबालिकालाई नै चुरोट किन्न पठाउने गरेको पाइएको बताए । अभिभावक स्तरमै चेतना र्पुयाउन जरुरी रहेको उनीहरुको भनाई छ ।

-समाचार स्रोतः उज्यालो खबर