धरान : धरानमा जारी २० औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. ११ ले वडा नं. १५ लाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार धरान रंगशालामा ११ नं. वडा र १५ नं. वडाबीच भएको खेलको निर्धा्रित समयको खेल गोल रहित बराबरी र थप समयमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा वडा नं. ११ का लागि अनिल राई, वर्तमान राई, धिरेन लिम्बू र सचिन श्रेष्ठले गोल गरे भने रिभस मास्केले गोल गर्न सकेनन् । त्यस्तै वडा नं. १५ का लागी शुभम जीमी, विसन श्रेष्ठ र मदन लाबुङले मात्रै गोल गरे भने सलमान साम्बा र सन्तोष लिम्बूले गोल गर्न सकेनन् । खेलको म्यान अफ द म्याच वडा नं. ११ का गोल किपर सचिन श्रेष्ठ घोषित भए । उनले नगद २५ सय रुपैयाँ र मेडल प्राप्त गरे । भोली आइतबार वडा नं. १७ र १९ बिच खेल हुने गोधुली क्लबका अध्यक्ष अशोक राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले रनिङ कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले ११ हजार पाउनेछ भने उदयीमान खेलाडी, बेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीले भने ७ हजार ५ सय पाउनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो माघ ४ गते शनिबार हुनेछ ।