धरान : नेपाल तरुण दल धरान ८ को आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार धरान ८ स्थित बम्जन टोलमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त शिविरमा आँखा, नाक, घाँटी र कानको विरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । साथै विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा स्वास्थ्य जाँच गर्न दिप ज्योति आँखा अस्पताल विराटनगरका ५ जना चिकित्सकको टोली आएका थिए ।

तरुण दलका युवाहरुले सामाजिक काम गर्नमा पनि सक्रियता रहेको तरुण दल धरान ८ का अध्यक्ष सन्तोष लिम्बुले बताए । गाउँ, टोल विकासको विकास गर्न, सहयोग पुरयाउन तरुण दलका युवाहरुले ठूलो भूमिका खेल्ने अध्यक्ष लिम्बुले बताए । उनले भने, ‘युवाहरुले सामाजिक काम गर्न सक्छ, युवाहरु सामाजिक क्रियाकलापमा उत्तिकै सक्रिय छ भन्ने सन्देश दिनका लागि निःशुल्क स्वास्थ्य शिविर गरेका हौं ।’ उनले हामीले गरेको कामले समाज र पार्टीमा पनि राम्रो सन्देशमा जाने बताए । आज स्वास्थ्य परिक्षण गराएकामध्ये २५ जनाको अप्रेसन गर्नुपर्ने अवस्था देखिएको अध्यक्ष लिम्बुले बताए । उनले भने, ‘उनीहरुलाई भोली आइतबार आँखा अस्पतालले विराटनगर बोलाएको छ ।’ अप्रेसन गर्नुपर्ने अवस्था रहेको २५ जनालाई आउन जानका लागि भोली तरुण दलले निःशुल्क गाडीको समेत व्यवस्था गरेको उनले टेलिफोन सम्पर्कमा जानकारी दिए । २५ जना विरामीको उपचारका लागि आँखा अस्पताले ७५ प्रतिशत सहयोग गर्ने पनि उनले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्न आएका विरामीहरुले निःशुल्क स्वास्थ्य शिविर गरेको प्रति खुशी व्यक्त गरे । आगामी दिनमा पनि यस्तो खालको सामाजिक कार्य गर्न सुझाव दिए ।

tarun

शिविरमा तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ, तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठ, बम्जन टोल विकास समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।