इनरुवा: सुदुर पश्चिम प्रदेश मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।

इनरुवामा जारी प्रतियोगिता अन्तर्गत आइतबार गण्डकी प्रदेशबिरुद्ध ९ विकेटको सहज जितको साथ सुदुरपश्चिम समुह ‘डी’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो । सुदुरपश्चिमले पहिलो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । योसंगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पुरा भएको छ । समुह ’ए’ बाट त्रिभुवन आर्मी क्लब, समुह ’बि’ बाट नेपाल पुलिस क्लब तथा समुह ’सी’ बाट प्रदेश नम्बर ३ ले यस अघिनै सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए ।

आइतबार इनरुवा रंगशालामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदुरपश्चिमले मात्र १ विकेट गुमाएर १० .२ ओभरमा पुरा गर्यो । सुदुरपश्चिमको लागि गजेन्द्र बोहराले ३४ रन बनाए भने खडक बोहराले अविजित १६ रन तथा अरुन ऐरीले अविजित १० रन बनाए । गण्डकी प्रदेशको लागि १ मात्र विकेट दिपेश खत्रीले लिए ।

Binod-Lama

यसअघि टस जितेर ब्याटिंग गरेको गण्डकी प्रदेशले २३.३ ओभरमा ६४ रनमै सबै विकेट गुमाएको थियो । गण्डकीलाई सानो योगफलमा सिमित गर्न सुदुर पश्चिमका देब्रे हाते स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिए । लामाले अघिल्लो खेलमा मलेसिया बिरुद्ध पनि ४ विकेट लिएका थिए । ७ विकेट हात पार्ने क्रममा लामाले ९.३ ओभर बलिंग गर्दै २ मेडन ओभर सहित १४ रन मात्र खर्चिए । यस्तै अफ स्पिनर शेर मल्लले २ तथा तिब्र गति बलर बिक्रम ठगुन्नाले १ विकेट लिए ।

गण्डकी प्रदेशको लागि ओपनिंग ब्याटिंग गरेका किशोर महतोले सर्वा्धिक १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ द म्याच बिनोद लामा चुनिए।प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को अन्तिम खेलमा सोमबार मलेसिया र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । माघ १ गते हुने पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।