पथरी: मोरङ जिल्लाका विभिन्न नगर र गाउँपालिकाका उपप्रमुखहरूले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी दिन माग गर्दै नेकपाको ध्यानाकर्षण गराएका छन् ।

आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङ जिल्लालाई ध्यानाकर्षण पत्र बुझाउदै उपप्रमुखहरुले यस्तो माग गरेका हुन् । पार्टीको जिल्ला कमिटीको कार्यालय, पाञ्चली विराटनगर पुगेर ७ नगरपालिका र ३ गाउँपालिकाका उपप्रमुखहरूले पत्र बुझाएका थिए । उपसभामुख डा.तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्न ढिलासुस्ती भएको र सञ्चार माध्यममा आएको चर्चाले बढी गम्भीर बनाएको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमार्फत नै उपप्रमुखहरूले तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्ने विषयमा किन निर्णय हुन नसकेको हो भन्ने प्रश्न पनि गरेका छन् । “श्रमजीवी महिलाहरूका मुर्छित सपनाहरूलाई ब्युँताउन सक्ने उहाँको नेतृत्व र रणनीतिक नेतृत्व क्षमता विकासले ठाउँ पाउँदा हामीले फड्को मार्न सक्ने कुरामा हामी मोरङ जिल्लाभरिका स्थानीय सरकारका उपप्रमुख,उपाध्यक्षहरू विश्वस्त छौँ,”पत्रमा उल्लेख छ ।

Sivamaya

योग्यता–क्षमता र आवश्यकताको अन्तरसम्बन्धमा पार्टीले विश्वास गर्ने गरेकोले यहीँ मनोविज्ञानका साथ तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान हुने विषयमा विश्वास रहेको र जिम्मेवारी प्रदान गर्न उपप्रमुखहरूले आग्रह गरेका छन् । पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोला, उर्लाबारीकी लक्ष्मीदेवी भण्डारी, बेलबारीकी ढाकाकुमारी पराजुली, लेटाङकी कृष्णकुमारी पोखरेल निरौला, सुन्दरहरैचाकी धनाकुमारी तामाङ, रतुवामाइकी दमयन्ता चुडाल, केराबारी गाउँपालिकी उपाध्यक्ष शान्ति लिम्बु भुजेल, ,मिक्लाजुङकी सरला राई, कानेपोखरीकी राजमती इङ्नाम र रंगेलीकी केशव कुमारी खरेलले संयुक्तरुपमा नेकपा मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेललाई पत्र बुझाएका थिए ।