धरान: नेपालको चीनसँगको सिमानाका संखुवासभा जिल्लाको किमाथांकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएका छ ।

प्रदेश नं १ सरकारले उत्तरी नाका मिकाथांकामा बिओपी स्थापना गर्ने निर्णय र सिफारिश वमोजिम संघीय सरकारको निर्णय अनुसार आज मंगलबार बिओपी स्थापना भएको हो । यो नेपालको उत्तरी हिमाली क्षेत्रमा स्थापना भएको पहिलो विओपी हो । बिओपीमा सशस्त्र प्रहरी निरीक्षक देवराम राईको कमाण्डमा ३५ जना टोली सिमा सुरक्षा तथा निगरानीमा रहनेछन् । उनीहरुलाई मंगगलबार नेपाली सेनाको हेलिकप्टरबाट किमाथांका पुर्याइएको थियो । सो क्रममा सशस्त्र प्रहरी वल १ नं बराह बाहिनी मुख्यालय पकलीका डिआइजी नगेन्द्रबहादुर थापा, संखुवासभाका प्रजिअ जीवन प्रसाद दुलाल¸ सशस्त्र प्रहरी बल ४ गुल्म हेडक्वार्टर अरुण संखुवासभाका गुल्मपति डिएसपी बासुदेब महतलगायत पनि बिओपी स्थापना गर्न पुगेका थिए ।

bop2

संखुवासभाको भोटखोला गाँउपालिका वडा नंं. १ मा किमाथांकाको रुपमा कामकाज गर्ने गरी विओपी स्थापना गरिएको छ । विओपी उद्घाटन कार्यक्रममा वडा नं.१ का अध्यक्ष रोनछेवी शेर्पासहितको जनप्रतिनिधि र चीनको स्वशासित क्षेत्र तिब्बतको ट्रिग्रिसेन जिल्ला ड्रेन्ड्राङ्गका डिवाईएसपी दावा छिरिङ्को पनि उपस्थिति रहेको थियो । सशस्त्रका डिआइजी थापा र संखुवासभाका प्रजिअ अधिकारीले संयुक्त रुपमा विओपी कार्यालयको अनावरण गरेका थिए । डिआइजी थापाले बिओपिले सीमा सुरक्षा¸सीमा स्तम्भ अवलोकन¸राजस्व संकलन¸ चोरी पैठारी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न पनि प्रभावकारीरुपमा परिचालन हुन निर्देशन दिएका थिए ।