सुनसरी: सुनचादी पसलको नाममा पासबुक छपाएर अवैधरुपमा वित्तिय कारोबार गरी सर्वसाधारणहरुको लाखौं रुपैया ठगी गरेको आरोपमा इटहरीबाट एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालयले इटहरी उपमहानगरपालिका वडा नं ६ का विरेन्द्र विश्वकर्मा(रामदाम)लाई अवैध वित्तिय कारोबारको आरोपमा पक्राउ गरेको हो । उनले नेपाल राष्ट्र बैकबाट बैकिङ कारोबारको अनुमति नलिई श्री लक्ष्मी स्टोर्स(ज्वेलर्स) को नाममा पासबुक छपाएर वित्तिय कारोबार गरेका थिए । सर्वसाधारणहरुलाई बढी ब्याज दिन्छु भन्दै प्रलोभनमा पारेर ठगी गरेको उजुरी आएपछि विश्वकर्मालाई पक्राउ गरेको प्रहरी निरीक्षक एवं इटहरी प्रहरीका सुचना अधिकारी मानप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीमा हालसम्म ४५ लाख ४ हजार बराबरको ठगी गरेको जाहेरी परेको छ ।

जाहेरी परेपछि प्रहरीले सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर विश्वकर्मालाई काठमाण्डौस्थित बालजुबाट सोमबार पक्राउ गरेको थियो । उनलाई ठगी मुद्दामा म्याद थपको तयारी गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध विभिन्न १० जना व्यक्तिले ठगी गरेको उजुरी दिएका थिए । उजुरी दिनेहरुमा सालिकराम कट्टवालले २ लाख ३७ हजार, तारा कट्टवालले ५ लाख ५० हजार, कमला दाहालले १० लाख, तुलसी प्रसाद घिमिरेले ३ लाख र रमला लुईटेलले ३ लाख ९९ हजार ठगीएको जनाएका छन् । यस्तै, गोपाल राईले २ लाख, रंञ्जना निरौलाले ५ लाख, यशोदा दाहालले ६ लाख ५० हजार, सीतादेवी पोख्रेलले ५ लाख र हिरा ठाकुर १ लाख ६८ हजार ठगिएको उजुरीमा उल्लेख गरेका छन् । विश्वकर्माबाट अन्य पनि ठगीएको हुनसक्ने भएकोले सम्पर्क गर्न प्रहरीले सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।