धरान: महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने र आर्थिकरुपमा सशक्तिकरण गर्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं १५ मा एक महिने गुडिया बनाउने तालिम दिइएको छ ।

हातेमालो उद्यमी महिला समुहको आयोजना र १५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा गुडिया बनाउने तालिम महिलाहरुलाई दिइएको हो । मंसिर २३ देखि शुरु भएको तालिममा १५ जना महिलाहरु सहभागी रहेका थिए । वडा अध्यक्ष नरेश इवारमले उद्घाटन गरेको तालिम सम्पन्न भइसकेको छ । तालिम अवधिमा सहभगाीहरुले हात्ति,सुगा, कुकुर, भालु जस्ता गुडियाका प्रकारहरु बनाउन सिकेका छन् ।

व्यवसायिकरुपमा गुडिया बनाएर बिक्री गर्न सकुन् र आर्थिक आयआर्जन गर्न सकुन् भन्ने उद्देश्यले तालिम दिइएको हातेमालोकी अध्यक्ष लिला ढकालले बताइन् । “व्यवसायिकरुपमा गुडियाहरु बनाउन सके त्यसलाई बेचेर राम्रो आर्थिक आर्जन गर्न सकिन्छ,”प्रशिक्षकसमेत रहेकी अध्यक्ष ढकालले भनिन् । उनले तालिम लिए पछि सदुपयोग गर्दै बजारसँग प्रतिस्पर्धा गर्नसक्ने गरी राम्रो फिनिसिङ गर्न सहभागीहरुलाई उनले आग्रह गरिन् । तालिमका सहभागी जानुकय निरौलाले तालिममा सीप सिकेपछि उर्जा मिलेको बताइन् । “तालिम लिए पछि हामीमा थप उर्जा मिलेको छ, हामी आर्थिकरुपमा सक्षम बन्न मद्दत मिल्छ भन्ने आशा छ,”उनले भनिन् ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवं रेयुकाईका अध्यक्ष केशव काफ्लेले महिलाहरु उद्यमी बन्न सके परिवार र समाजलाई नै फाइदा पुग्ने बताए । यस्तै, महिला सञ्जालकी अध्यक्ष सविता राईले महिलाहरु आर्थिकरुपमा आत्मनिर्भर र सक्षम भएमा घरेलु हिंसाका घटनाहरुमा पनि कमी आउने धारणा राखिन् ।