धरान: माघे संक्रान्ति अर्थात माघ १ गतेलाई मगर जातिले नयाँ बर्ष सार ल्हेसकोरुपमा मनाउने गर्छन् ।

सार ल्हेस २०७६ को अवसरमा बुधबार नेपाल मगर संघ धरान नगर समितिले धरान ८ स्थित सभागृहमा कार्यक्रम आयोजना गरेको थियो । आफ्नो मौलिक चाडपर्व मनाउने क्रममा खुशी साटासाट गर्नुपर्ने हो, तर आज औपचारिक कार्यक्रममा मगर संघका नेतृत्वहरुले आदिबासी जनजाति महासंघ र धरान उपमहानगरपालिकाप्रति आक्रोश पोखे ।

खासमा कार्यक्रममा निम्ता गरे पनि आदिबासी जनजाति महासंघका कोही पनि पदाधिकारी वा प्रतिनिधि गएका थिएनन् । यस्तै, उपमहानगरपालिकाबाट पनि कोही प्रतिनिधि कार्यक्रममा सहभागी भएनन् । मेयर तिलक राई काठमाण्डौंमा भएकोले संघले उपमेयरलाई भेटेर निमन्त्रणा गरेको जनाएको छ । अझ आदिबासी जनजाति महासंघबाट कोही पनि नआएपछि मगर संघ आक्रोशित भयो । ‘मगरको कार्यक्रममा जनजाति महासंघ, नगपालिका किन नआउने ?’संघका अध्यक्ष चित्र थापा मगरले भने,‘महासंघ र नगरपालिकाको हामीलाई हेर्ने दृष्टिकोण के हो ? हामीप्रति किन उदासिन ? यसको मुल्य चुकाउनु पर्छ ।’

maagar

नगर अध्यक्ष थापा मगरले मात्र होइन, प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्ने क्रममा संघको प्रदेश १ समिति अध्यक्ष तेजबहादुर थापाले पनि निम्तो गरिएकाहरु नआउनु खेदपुर्ण भएको धारणा राखे । उनले राज्यबाट भइरहेको विभेदप्रति दुःख व्यक्त गरे । साथै, मगरहरुले आफ्नो सुसुप्त अवस्थामा रहेको शक्ति महसुस गर्ने बेला भइसकेको पनि बताए । कार्यक्रममा नेवाः देय दबुका अध्यक्ष मनोहर शाक्य र मगर विद्यार्थी संघका केन्द्रीय सदस्य विनोद मगरले पनि सम्बोधन गरेका थिए । औपचारिक कार्यक्रम समापन भएपछि साँस्कृतिक कार्यक्रम आयोजना भएको थियो । 

magar3IMG_20200115_160426 magar4