धरान : शारा थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा चन्द्र संस्कृत मा.वि. धरान प्रथम भएको छ ।

प्रतियोगितामा विद्या भुषण स्कूल दोस्रो, लोटस विद्या विहार तेस्रो र ज्ञानोदय मा.वि. सान्त्वना भएका छन् । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयका सहभागीलाई क्रमशः ७ हजार, ४ हजार ५ सय, ३ हजार र १५ सय नगद सहित प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । विजयी विद्यालयहरुलाई प्रमूख अतिथि, प्रदेश नं. १ का सभामुख प्रदिप कुमार भण्डारी र प्रतिष्ठानका अध्यक्ष विरेन्द्र सिंह थापाले सिल्ड समेत प्रदान गरेका थिए । आफ्नो माता पितालाई स्मरण गर्ने र सामाजिक एवं बौद्धिक कार्यक्रम आयोजना गरेर एउटा सुपुत्रले गर्ने दायित्व पुरा गरेकोमा प्रदेश नं. १ का सभामुख भण्डारीले थापाको प्रशंसा गरे । बुवा राजेन्द्र बहादुर एक बौद्धिक र हकी व्यक्तित्व भएको साथै उहाँबाट आफु पनि धेरै प्रभावित भएको उनको कथन थियो । उनले प्रतिष्ठानले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै विजयी तथा सहभागी विद्यालय र विद्यार्थीहरुलाई बधाई समेत ज्ञापन गरे ।

कार्यक्रममा प्रदेश नं. १ का पूर्व प्रदेश प्रमूख गोविन्द तुम्बाहाङ्ग विशेष अतिथिको रूपमा रहेका थिए भने धरानका शैक्षिक, सामाजिक र बौद्धिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न रविन्द्र थापाले क्वीज मास्टर, डा. राजेन्द्र शर्माले स्कोरर तथा निर्णायक, मोहन श्रेष्ठले समय सूचक र विष्णु बरालले कार्यक्रम संचालकको भुमिका निर्वाह गरेका थिए । प्रतिष्ठानले यस कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिई एउटा छुट्टै पहिचान बनाउने डा. राजेन्द्र शर्माले बताए ।

प्रतियोगतामा प्रत्येक विद्यालयबाट ३ जना विद्यार्थी सहभागी गराईएको थियो । चन्द्र संस्कृत मा.वि.का हिमाल प्रसाद निरौला, दिपेन भण्डारी र एनिस रेग्मी प्रथम भएका थिए । विद्या भुषण स्कूलका प्रियङ्का लिक्बु, आयुस्मा राई र अनुपा लिम्बु दोस्रो भएका थिए । लोटस विद्या बिहारका विद्यार्थीहरु रश्मी तामाङ्ग, किसोर पौडेल र दिनेश शाक्य तेस्रो भए भने ज्ञानोदय मा.वि.का विद्यार्थीहरु संचिता राई, घनश्याम परियार र आशिष लिम्बु सान्त्वना पुरस्कार पाउन सफल भए । सुनसरी उद्योेग बाणिज्य संघको सभाहलमा आयोजित प्रतियोगिताको फाईनल राउण्डमा शिक्षा निकेतन मा.वि. र पञ्चकन्या मा.वि. पनि सहभागी भएका थिए । मंगलबार श्री पब्लिक हाईस्कूलको हलमा सम्पन्न छनौट चरणमा धरानका २२ बटा विद्यालयहरु सहभागि भएका थिए ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक हरिप्रसाद दाहालले प्रतिष्ठानले गरेको सामाजिक एवं बौद्धिक कार्यको उच्च मुल्याङ्कन गर्दै काजी राजेन्द्र वहादुर थापाको व्यक्तित्व माथि चर्चा गरेका थिए । उनले भने, ‘थापा समाजमा प्रसिद्धि कमाएका, अंग्रेजी भाषा साथै अन्य धेरै भाषामा राम्रो दखल राख्नुहुने समाज र राष्ट्रप्रति चिन्तनशील व्यक्तित्व हुनुहुन्थ्यो ।’ थापालाई सम्झँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको विभिन्न विषयको गहिरो अध्ययन गर्नु भएका उहाँको विज्ञ अनुभव सुन्न छाता चौकमा तत्कालिन बुद्धिजिविहरु लालाहित हुने गरेको उनले सुनाए ।

बुवा राजेन्द्र बहादुर थापा र मुमा शान्तिलता थापाको स्मृतिमा छोरा विरेन्द्र सिंह थापा र बुहारी कल्पना थापा एवं थापा परिवारले २०७२ सालमा यो प्रतिष्ठानको स्थापना गरेको हो । यस अघि प्रतिष्ठानले प्रत्येक वर्ष विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने, विद्यालयहरुलाई सहयोग पुर्याउनुका साथै शैक्षिक तथा बौद्धिक कार्य गर्ने संस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएको थियो । विरेन्द्र सिंह थापा राष्ट्रिय वाणिज्य बैंकका पूर्व क्षेत्रिय उपप्रवन्धक हुन् । उनले आफुले पाउने पेन्सन रकम यस प्रतिष्ठानले प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रममा खर्च गर्दै आएका छन् । आफ्नो माता पिताको गुण तिर्न नसकिए पनि यसरी सामाजिक काम गरेर आफ्नो दायित्व पुरा गर्न पाएकोमा आफु हर्षित भएको प्रतिष्ठानका अध्यक्ष थापाले बताए । आफुले गरेको काममा समाजले गरेको साथ र सहयोगको लागि आफु आभारी भएको उनले बताए । प्रतिष्ठानको कार्यसमितिमा अध्यक्ष विरेन्द्रसिंह थापा र सदस्यहरुमा श्याम गोविन्द श्रेष्ठ, राजविमल श्रेष्ठ, मोहन श्रेष्ठ, विष्णु वराल, रविन्द्र थापा, दिप बहादुर कार्की र कल्पना थापा रहेका छन् ।