इटहरीः इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधी आएसँगै देशैभरी चर्चामा रह्यो । अंग्रेजी बोल्ने मेयर र सार्वजनिक जग्गामा डोजर चलाउने जनप्रतिनिधि भनेर इटहरीले चर्चा पायो ।

केही समय पछि पत्रकार लोपारेको र पत्रकारको नाकको डाडी भाच्चे बिषयले इटहरी हेडलाइन निक्कै बिक्यो । एक पछि अर्का योजना सार्वजनिक हुने इटहरीलाई धरैले रामराज्यकै रुपमा चिनाउन थाले । देश तथा विदेशमा पनि भाइरल भएको इटहरी अहिले थला परेकोछ । दुई बर्षमा धेरै योजनाहरु सार्वजनिक भए । ठुलै हल्ला र तामझामका बिच सार्वजनिक गरिएका योजनाहरु अहिले अलपत्र परेका छन् ।

वाईफाई जोन

कार्यपालिकाको पहिलो बैठकबाट निर्णय भएको वाईफाई जोनको योजना अहिले अलपत्र अवस्थामा छ । इटहरीका महत्वपुर्ण चौकमा फ्रि वाईफाई जडान गर्ने योजना अहिले बेवारिसे बनेको हो । वडाध्यक्षदेखि मेयरसम्मका उमेद्धवारले बाचा गरको फ्रि वाइफाईको मुद्दा अहिले हराएको छ । कार्यपालिकाबाट निर्णय भएर कार्यन्वयन गर्नुपर्ने अवस्थामा पुगेपनि उपमहानगर भित्रको आन्तरिक तनावको कारण योजना अलपत्र परेको हो ।

जनता पार्क

जनता पार्कले इटहरीलाई कुनैबेला जुरुक्क उठाएको थियो । इटहरी ९ मा अवस्थित डिभीएम बोर्डिङले भोगचलन गरिरहेको खेलमैदानमा जनतापार्क बनाउने योजना अगाडि सारिएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलन्यास गर्ने भनिएको सो पार्क पछि राजनैतिक समिकरण नमिले पछि एक वृद्धले शिलन्यास गरेका थिए । मेयर द्धवारीकलाल चौधरीले भुमाफीयाले जग्गा मिचेको भन्दै स्कुल भत्काउने धम्की दिए ।

आफु काम गर्ने मेयर भएको भन्दै उनले सो खेलमैदानमा डोजरनै चलाए । पछि क्रिकेट खेलाडीहरुको विरोध भएपछि सो मैदानमा तारबार गर्ने काम मात्र भयो । अहिले मैदानमा तारबार गरिएको छ । तर काम कमसल भएकोले तारबार भत्कीन थालीसकेकोछ । उता जनतापार्क अलपत्र परेको छ । उपमेयर लक्ष्मी गौतमका अनुसार उक्त मैदानमा केही फलैचा बनाउने, सोलार लाईट जडान गर्ने र घुम्न लायक बनाउने गरी काम भइरहेकोछ ।

क्यान्सर अस्पताल

इटहरी ५ काब्यबाटीकामा निमार्ण गर्न लागिएको क्यान्सर अस्पतालले इटहरीलाई एकपटक ततायो । इटहरीमा क्यान्सर अस्पताल बन्ने भयो भनेर धेरैले खुुशीयाली साटासाट गरे । कतिपयले काब्यबाटीका छेउछाउमा खडेरी खरीद गर्न समेत भ्याए । केही जग्गा कारोबारीले अब विस्तृत योजना प्रतिवेदन आउनै लाग्यो भन्दै जग्गा बिक्री गरी नाफा कमाए भने कतिले जग्गामा सेयर लगानी गरे । काब्यबाटीकाको जग्गामा बन्न लागेको उक्त अस्पतालको लागी पछी जग्गा नमीलेको कारण योजना असफल भएको थियो । तर एकताका अस्पताल बन्नुपर्छ र बन्नुहुँदैन भन्ने बिषयमा भने इटहरीमा ठुलै चर्चा भयो ।

टेङ्ग्रामा मोटरबोट तथा ग्रिनरी

टेङ्ग्रा खोलामा मोटरबोट चलाउने योजना पत्रकार बिराट अनुपमको अवधारणा हो । उनले टेङ्ग्रा खोलालाई तटबन्धन गर्ने र केही मिटरको ड्याम बनाएर मोटरबोट चलाउन सकिने अवधारणा ल्याएका थिए । जसको पुर्वअभ्यास समेत भएको थियो । वडा नम्बर ४, ६, ३ र २ भएर बग्ने उक्त खोलामा बोट चलाउने र खोला वरीपरी बिरुवा रोपेर हरीयाली बनाउने योजनामा समेटिएको थियो ।

खोलाको वारीपारी सुन्दर बाटो बनाउने र सोही बाटोमा मर्नीङवाक गर्ने भन्ने योजना थियो । विस्तृत योजना प्रतिवेदन बन्नेसम्म पुगेको उक्त योजना अहिले अलपत्र अवस्थामा छ । पछिल्लो बजेट नीति तथा कार्यक्रममा २० लाख बजेट छुट्याइएको छ । तर सो आयोजना कहिले पुराहोला भन्ने बारे भने कसैलाई पनि जानकारी छैन ।

मोबाइल ट्वाइलेट

कार्यपालिकाको पहिलो बैठकको निर्णय मोबाईल ट्वाईलेट बनाउने थियो । इटहरीमा सार्वजनिक सौचालय नभएको भन्ने गुनासो बढीरहेको बेला यो निर्णयको खुलेरै तारीफ भएको थियो । तर निर्णय भएको दुई बर्ष पुरा हुँदा समेत एउटा पनि सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन ।

जनप्रतिनिधी आउनुभन्दा अघि नै अभ्यास गरेर असफल भएको मोबाईल ट्वाइलेटको अवधारण पुनः निर्माण गर्ने काम निर्णय भएको थियो । जुन अहिलेसम्म पनि निर्माण हुन सकेको छैन । उपमेयर गौतमकै भनाईका आधारमा उपमहानगरपालिकाको गेट अगाडीनै सुबिधा सम्पन्न सौचालय बनाउने काम सुरु भइसकेको छ । मोबाईल ट्वाइलेट असफल प्रयास भएकोले यसलाई स्थगित गरिएको हो ।