मोरङ : विराटनगर महानगरपालिका ८ बलुवाईकी एक युवतीको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले जलाउन लागेको शव अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

स्थानीय २८ वर्षीय प्रेमदेवी साहको शव प्रहरीले सिंगिया खोलास्थित घाटबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । घाँटीमा निलडाम देखिएको भन्दै साहकी माइती पक्षले उनको शव जलाउन दिएको थिएन । सोही क्रममा प्रहरीले पनि साहको मृत्यु शंकास्पद भएको ठहर गर्दै शव नियन्त्रणमा लिएको जनाएको छ । साहको शव जलाउन परिवार र छिमेकी घाटमा पुगेका थिए । घाटमा चितासमेत बनाएर शव जलाउने तयारी भइसकेको थियो । प्रेमदेवीको मृत्यु शंकास्पद देखिएकोले प्रहरीले श्रीमान् गोविन्द साहलाई पनि अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ । 'शव पोष्टमार्टमको लागि अस्पतालमा छ, श्रीमान् अनुसन्धानको लागि हामीसँगै छन्, सोधपुछ भइरहेको छ,'मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले कपुरीन्यूजसँग भने ।

deadbody1

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक रामबहादुर ढकाल र वडा प्रहरी कार्यालय हाटखोलाका प्रहरी नायब निरीक्षक (सई)मनोज अधिकारीको छुट्टा छुट्टै टोली घाटमा पुगेर शव नियन्त्रणमा लिएको एसपी अधिकारीले जानकारी दिए । उनका अनुसार घटनास्थल मुचुल्का तयार पारेर शव प्रहरीले नियन्त्रण लिएको र पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल लगिएको छ । घटनालाई हरेक पक्षबाट अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले बताए ।

मृतकका दाजु राजु साहका अनुसार बिहान साढे ५ बजेमात्र बहिनीको मृत्युको जानकारी माइती पक्षमा पुगेको थियो । त्यसपछि बहिनीको शव हेर्दा घाँटीमा आलो डाम देखिएकोले हत्या भएको आशंका बढेकोले प्रहरीमा खबर गरेको उनले जानकारी दिए । प्रेमदेवीको माइती घर सुनसरीको बराहक्षेत्र नगरपालिका ४ मा छ । उनी केही समयदेखि मानसिक समस्यामा भएकोले माइतीले उपचार गरेर पुनः घर पठाएको थियो । बिहान एक्कासी बहिनीको मृत्यु भएको खबर आएको उनले बताए । करिब १२ बर्षअघि प्रेमविवाह गरेकी मृतकको दुई छोरा छ । तस्बिर स्रोत: आवर विराटनगर