धरान: धरानको भानुचोकदेखि माछा भौडीसम्मको देशीलाइन सडक खण्ड निर्माण कार्य ढिलाइ भइरहेको भन्दै स्थानीयबासीले नगर प्रमुखसमक्ष गुनासो गरेका छन् ।

आज स्थानीय वडाबासीहरुले नगरप्रमुख तिलक राईलाई भेटेर निर्माण कार्य चाडो अघि बढाउन पनि आग्रह गरेका छन् । स्थानीयबासीले अतिब्यस्त सडक लामो समय निर्माणको नाममा ठप्प हुँदा सर्वसाधारणहरुले पनि सास्ती भोग्नु परेको भन्दै नगरप्रमुख राईको ध्यानाकर्षण पनि गराएका छन् । साथै, स्थानीय व्यापारीहरुको व्यापारमा पनि धेरै असर पुगेको भन्दै उनीहरुले चाडो निर्माण कार्य सम्पन्न गराउन आवश्यक पहल गर्न नगर प्रमुख राईलाई आग्रह गरेका छन् ।

धरानको वडा नं २ मा पर्ने देशीलाइन सडकलाई ५० फिट मापदण्डअनुसार विस्तार गर्न नगर गौरवको आयोजनामा छनौट गरेर निर्माण कार्य भइरहेको छ । गत बर्ष स्थानीयबासीले सडक विस्तारको लागि आफ्नो घर पनि भत्काएका थिए । गएको दशैंअघि देखि नै सडक विस्तारको कार्य अघि बढाइएको थियो । आगामी जेठसम्म सडक निर्माणको ठेक्काअवधि बाँकी नै छ । तथापी, निर्माण कार्य सन्तोषजनक नभएको र अस्तब्यस्त भएकोले आफुहरुले धेरै सास्ती भोग्नु परिरहेको स्थानीयबासीहरुको भनाई छ । ‘नगर गौरवको आयोजना हो, तर सडक के कसरी निर्माण भइरहेको छ भन्ने जानकारी पनि पाउन सकिएको छैन,’ स्थानीय रमेश राईले भने,‘यो ब्यस्त र महत्वपुर्ण सडक हो, हामीले बुझ्न खोज्दा पनि उल्टै हप्की खानुपर्ने जस्तो अवस्था छ । त्यसैले नगर प्रमुख ज्युलाई भेटेर ध्यानाकर्षण गराएका हौं ।’

desi-line1

स्थानीबासी एवं पुर्ववडाअध्यक्ष विष्णु राईले आफुहरुले सडकको लागि घर भत्काएको एक बर्ष बित्न लागेको तर सडक भने खाल्डाखुल्डी र अस्तब्यस्त अवस्थामा रहेको भन्दै गुनासो पोखे । ‘भानुचोक र माछाभौडीबाट सवारीसाधन देशीलाइनमा छिर्नसक्दैन, अस्ति विरामी लैजान एम्बुलेन्स आउदा पनि धेरै दुःख भयो,’उनले भने,‘सडक निर्माणबारे २, ४ जना व्यक्तिलाई मात्र होइन, सबैलाई जानकारी होस् ।’ मेयर राईले वडाबासीको गुनासोलाई गम्भीरतापुर्वक लिएको र विकास, निर्माणको कार्यबारे जान्न, बुझ्न पाउने अधिकार सबैको भएको प्रतिक्रिया दिएका थिए ।

वडा नं २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठका अनुसार आगामी जेठसम्म ठेक्का अवधि भएपनि ठेकेदार कम्पनीले चैतभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । अहिले करिब महिना दिनदेखि काम रोकिनुमा उपमहानगरपालिकाले स्टिमेट गर्दा सडकको दुवै किनारामा विजुलीको पोल नराखेको कारण समस्या भएको उनले बताए । ‘सडकको दुवै किनारमा पानीको पाइप र विजुलीको पोल हुनुपर्छ भनेका थियौं, तर विजुलीको पोल एकापटि मात्र स्टिमेट भएछ, र त्यसको परिणाम अहिले भोग्दैछौं,’अध्यक्ष श्रेष्ठले भने,‘हामीलाई १२ वटा पोल चाहिने तर ६ वटाको मात्र स्टिमेट भयो । एक महिनादेखि यसैको लविङमा छौं, प्राधिकरणबाट ११ वटा पोल झर्ने भएको छ ।’ विजुलीको पोल सरेपछि निर्माण कार्य सहज हुने अध्यक्ष श्रेष्ठले बताए ।