जनकपुरधाम:उपभोक्ता समितिमार्फत भएको कामको रकम भुक्तानी नपाएको भन्दै प्रदेश नम्बर २ का मुख्यमन्त्रीसहित मन्त्रीको तस्बिरमा जुत्ता प्रहार गरिएको छ ।

विभिन्न मन्त्रालय र सांसदहरुले उपभोक्ता समितिमार्फत काम सम्पन्न भएपनि रकम भुक्तानी नपाएको भन्दै जुत्ता प्रहार गरिएको हो । उपभोक्ता समितिहरुले संघर्ष समिति गठन गरेर आन्दोलनरत छन् । उनीहरुले जिरोमाईलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिरमा जुत्ता प्रहार गरेका हुन् । संघर्ष समितिले मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको फोटो झुन्डयाएर जुत्ता प्रहार गरेका थिए ।

उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शन पनि गरेको थियो । मुख्यमन्त्री, मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार गर्न थालेपछि प्रहरीले चार जनालाई पक्राउ समेत गरेको थियो । प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, बिमलेश चौधरी र शंकर साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

गत आर्थिक बर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण भएको ८ सय ४२ योजनाको करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताइएको छ । प्रदेश सरकारले भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिहरु आन्दोलनमा छन् । यही प्रकरणमा मुख्यमन्त्रीले हालसम्म जवाफ नदिएपछि प्रदेश २ को संसद पनि अवरुद्ध छ ।