धरान: सुर्य नेपाल गल्फ टुरअन्र्तगत चार दिने इष्टर्न ओपन गल्फ टुर्नामेन्ट आजदेखि शुरु भएको छ ।

पार ६९ को निर्वाणा गल्फ कोर्षमा शुरु भएको प्रतियोगितामा ५० गल्फ खेलाडी सहभागी छन् । कुल १३ वटा समुह बनाएर शुरु भएको पहिलो दिनको खेल फ्रन्ट नाइन सकिएर ब्याक नाइनको खेल भइरहेको छ । आयोजक नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनका अनुसार ३४ व्यवसायिक(प्रो.) र १६ एमेच्योर खेलाडी सहभागी छन् । ती मध्ये ७ जना धरानका प्रोफेस्नल खेलाडी छन् ।

प्रतियोगितामा चर्चित गल्फर शिवराम श्रेष्ठ र यो बर्षको नम्बर वान गल्फर भुवन नगरकोटी पनि सहभागी छन् । स्थानीय गल्फरहरुमा गएको सेन्ट्रल ओपनबाट व्यवसायिक खेल जीवन शुरुवात गरेका धरानका युवा खेलाडी शुक्रबहादुर राईसहित देउराज पाख्रिन, मणि राई, थामबहादुर राई, सुमन सापकोटा, शिवकुमार माझी र शुक्रराज लिम्बु सहभागी छन् ।

eastern-open3

प्रतियोगितामा २ दिन ३६ होलको खेल सकिएपछि उत्कृष्ट स्कोर गर्ने २४ खेलाडीहरु मात्र तेस्रो दिनको स्पर्धाको लागि छनौट हुन्छन् । तेस्रो दिनको स्पर्धाको लागि छनौट हुने सबै व्यवसायिक खेलाडीहरुले नगद पुरस्कार कम्तीमा १० हजारसम्म पाउनेछन् ।

आयोजक संस्थाका अनुासर कुल पुरस्कार राशी ७ लाख रहेको छ । व्यवसायिक खेलाडीतर्फ च्याम्पियनले ट्रफीसहित नगद १ लाख २५ हजार पुरस्कार पाउनेछन् भने दोस्रो हुने खेलाडीले ७५ हजार पाउनेछन् । एमेच्योरको विजेता र उपविजेताले भने ट्रफी पाउनेछन् । तीन दिनको मुख्य स्पर्धा सकिएपछि चौथो दिन प्रो–एम स्पर्धा हुने आयोजकले जनाएको छ ।

eastern-open-golf surya-nepal-eastern srya6 surya-nepal