काठमाडौं: प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ नेकपाका सांसद एवं नेता अग्नि सापकोटाले उम्मेद्वारी दर्ता गरेका छन्।

आज मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर सापकोटाले मनोनयन दर्ता गराएका हुन्। सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा ओनसरी घर्तीमगर, देव गुरुङ र लक्ष्मण लाल कर्ण रहेका छन्। सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ।

नेकपाको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। यो निर्णय लगत्तै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले हिजो सोमबार राजीनामा दिएकी थिइन्। संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका थिए। उनी पुर्पक्षका लागि थुनामा छन्।

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । आज बिहान काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ।’