इटहरी:इटहरीको सरस्वती माविको प्रत्येक कक्षामा बाल क्लबले घडी राखेको छ । यो घडी राख्नुको उद्देश्य हो, शिक्षकहरु ठिक समयमा कक्षामा प्रवेश गरे कि गरेनन् भनेर निगरानी गर्नु ।

विद्यार्थीहरुले शिक्षक कक्षामा कति बेला प्रवेश गरे, र कति बेला कोठाबाट बाहिरिए भनेर त्यही घडी हेरेर खातामा लेख्छन् । यसले शिक्षकहरुलाई पनि अनुशासित हुन र ठिक समयमा कक्षामा प्रवेश गर्न दबाब परेको छ । इटहरीका प्रत्येक सामुदायिक विद्यालयमा गठन भएको बाल क्लव र ग्रिन क्लबले यस्तै उदाहरणीय काम गरिरहेको छ ।

आज इटहरी उपमहानगरले माविका ती बाल क्बल र ग्रीन क्लबका अध्यक्षहरुसँग अन्र्तक्रिया गरेको थियो । क्लबका बालबालिकाहरुले अन्तरक्रियामा विद्यालय र समुदायमा आफुहरुले गरेको कामको अनुभव सुनाएका थिए । विद्यार्थीहरुले विद्यालयमा रचनात्मक कामहरु गरेको फेहरिस्त प्रस्तुत गरे । त्यसैमध्ये एक हो, कविर माविको बाल क्लबका छात्राहरुले तयार गरेको सेनेटरी प्याड । उनीहरुले आफूहरुले प्रयोग गर्ने सेनेटरी प्याड स्कुलमै बनाएका छन् । स्कुलमै तालिम लिएर प्याड बनाएर जम्मा गर्ने गरेका छन् । महिनावारी हुँदा उनीहरुले त्यही प्याड प्रयोग गर्छन् ।

itri-school

यस्तै, इटहरीकै राष्ट्रिय माविका क्लबका विद्यार्थीहरुले विद्यालय नजिकको गाँउमा फोहोरमैला देखे भने त्यहाँ जान्छन्, र स्थानीय पनि जुटाएर सरसफाई गर्छन् । हिजोआज स्कुले केटाकेटीले फोहोर देखे भने आउछन् भनेर स्थानीय आफै सरसफाइमा जुट्न थालेका छन् । इटहरीको कविर माविका विद्यार्थीहरुले स्कुल आसपासमा मदिरा र सूर्तिजन्य पदार्थ बेचविखन नगर्न खवरदारी गर्ने गरेका छन् । पकली माविको बाल क्वलले विद्यालयमा खाजामा जंक फुड ल्याउन निषेध गरेका छन् । महेन्द्र मावि इटहरीमा कोही विद्यार्थी लामो समय विद्यालय नआए वालक्वलका छात्रछात्रा ती विद्यार्थीको घरमै पुगेर अभिभावक र विद्यार्थीलाई सम्झाई वुझाई गर्ने गरेका छन् ।

बाल र ग्रिन क्लबका अध्यक्षहरुले नियमित वैठक बस्ने, सातामा एक दिन अनिवार्य अतिरिक्त क्रियाकलाप गर्ने, वृक्षारोपण, फूलवारी निर्माण,चेतनामूलक कार्यक्रम गर्ने लगायतको कार्यहरु सुनाएका थिए । उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख कुमारी अम्बिका साहले एउटा विद्यालयका विद्यार्थीको सकारात्मक कार्य अर्को विद्यालयका विद्यार्थीहरुले पनि अनुसरण गरुन् भनेर अन्र्तक्रिया राखिएको बताइन् ।