इटहरी: बलात्कार आरोपमा मुद्दा खेपिरहेका सिद्धबाबा उर्फ कृष्ण बहादुर गिरी(कृष्णदास) उच्च अदालत परिसरबाटै फरार भएका छन् ।

आफ्ना अङ्गरक्षक नेपाल प्रहरीका हवल्दार र गाडी फर्काएर गिरी जोगवनी नाकाबाट भारत पसेका हुन् । उच्च अदालत बिराटनगरमा पेशिको लागि पुगेका उनी भारत प्रवेश गरेका छन् । जिल्ला अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका गिरीलाई धरौटीमा छोड्न आदेश दिएको थियो । सो आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको थियो ।

जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडी बढाउनु पर्ने भन्दै उच्च अदालतमा अघिल्लो बिहीबार मुद्दा दर्ता भएको थियो । सोही अनुसार बिहिवार उच्च अदालतमा कृष्णबहादुर गिरीको पेसि तोकिएको थियो । तर अदालतमा हाजिर नै नभई उनी फरार भएका हुन ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलका अनुसार गिरी उपचारका लागि भन्दै भारत गएको हुनसक्छ । गिरीले उपचारका लागि भारत गएको भन्दै अंगरक्षक समेत फिर्ता गरेको उनको भनाइ छ । जगदगुरु श्रीरामानन्दचार्य पिठका अध्यक्ष गणेश बिरही सुब्बाले उपचारका लागि सिद्धवावा भारत जाने कार्यक्रम रहेको तर आजै जाने भन्ने कार्यक्रम तय नभएको बताए ।

उच्च अदालतले आजै जिल्लाको फैसला सदर गर्ने की बदर गर्ने गरि फैसला गर्ने छ । यदि जिल्लाको आदेस बदर गरे कृष्णबहादुर गिरी कारगार चलान हुनेछन् । अहिले उच्च अदालत बिराटनगरमा गिरीका बिषयमा बहस भइरहेको छ । गिरीका तर्फबाट कानुन व्यबसायी मोहन कोइराला र रुपेश कोइरालले बहस गर्ने छन् ।