पोखराः एन्फाका कास्की अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा गण्डकी प्रदेशका सांसद राजिव गुरुङ उर्फ दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज लेकसाइडको होटल प्याराडाइजबाट प्रहरी निरीक्षक दिपक केसी कामाण्डको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध आजै अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रदेशस्तरीय मुख्यमन्त्री कप प्रतियोगिताको उद्घाटनमा मनाङ्गेले एन्फा अध्यक्ष मिलनलाई कुटेका थिए । अध्यक्ष गुरुङ्ले मनाङेले कुटपिट गरेको भन्दै हिजो बुधबार प्रहरीमा उजुरी दिएका थिए। आफूमाथि योजनाबद्ध ढंगले प्रदेश सांसद गुरुङले कुटपिट गरेको जाहेरीमा उल्लेख गरेका छन्। मनाङे विरुद्ध अभद्र व्यवहारको मुद्दा चलेको छ ।

मिलनले मनाङेविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार सार्वजनिकस्थलमा अभद्र व्यवहार गरेको भन्दै जाहेरी दरखास्त दिएका हुन् । संहिताको उक्त दफाको उपदफा १ मा सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा पसेर कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न नहुने उल्लेख छ । यदि कसैले माथि उल्लेखित कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

पक्राउ परेका दिपक मनाङ्गे मनाङ(ख)बाट प्रदेशसभा सदस्यमा निवार्चित भएका हुन् । निर्वाचित भएको करिब एक वर्षपछि दीपक मनाङेले २०७५ माघ १४ मा गण्डकी प्रदेशसभा सदस्यको सपथ लिएका थिए । स्वतन्त्र उम्मेदवारमा निर्वाचित गुरुङ सपथ खाएको केही समयपछि नेकपामा प्रवेश गरेका थिए ।