धरान : पाँचौ पानवारी भलिबल कपमा बाँझगरा भलिबल क्लब र सुन्दरहरैचा नगरपालिकाको टिम फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार धरान-६ स्थित सिमल चौरी खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा जयमहादेव भलिबल क्लब तरहरालाई ३-१ को सेटमा पराजित गर्दै बाझगरा भलिबल क्लब फाइनलमा प्रवेश गरेको हो । प्रतिष्पर्धात्मक खेलमा बझगराले २५–२३, २५-२१, २२-२५ र २५-२० ले खेल आफ्नो पक्षमा पारेको थियो । खेलको म्यान अफ द म्याच तरहराका रविन गौतम घोषित हुँदै नगद रु २५ सय पुरस्कार प्राप्त गरे ।

बिहीबारै भएको दोस्रो सेमिफानल खेलमा एक नं. प्रदेश प्रहरी रानीलाई ३-० को सोझो सेटमा पराजित गर्दै सुन्दरहरैचा नगरपालिका टिम फाइनलमा प्रवेश गरेको छ । प्रहरीलाई २५-२३, २५-१८ र २५-१८ को सेटमा सुन्दरहरैचाले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच एक नं. प्रदेश प्रहरी रानीका क्याप्टेन प्रदिपकुमार श्रेष्ठ घोषित भए । उनलाई नगद रु २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

शनिबार सुन्दरहरैचा नगरपालिका टिम र बाझगरा भलिबल क्लबबीच फाइनल खेल हुने छ । खेल विहान ११ बजेदेखि सुरु हुने आयोजक सयपत्री बोइज युनियन क्लबका उपाध्यक्ष विश्वजित राईले बताए । प्रतियोगिताको विजेताले ७५ हजार नगद र ३५ तोला चाँदीको रनिङ ट्रफि जित्नेछ । त्यस्तै उपविजेतालाई नगद रु ४२ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र विधागत उत्कृष्टलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।