झापा : झापाको पुरानो बजारको रुपमा चिनिएको गौरीगंजमा बसपार्क निर्माण हुने भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कको जग्गा व्यवस्थापन भएको करिब ६ दशकपछि बसपार्क निर्माणको प्रक्रिया सुरु भएको हो ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ को खजुरगाछी बजार दक्षिण तर्फ करिब १५ कठ्ठा जग्गामा निर्माण कार्य शुरु गरिएको बस पार्कका लागि ४३ लाख रुपैयाँ वजेट विनियोजन भएको छ । बसपार्क निर्माणका लागि गौरीगंज गाउँपालिका वार्ड नं.६ ले ८ लाख, गौरीगंज गाउँपालिकाले २० लाख र झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत १५ लाख रुपैयाँ विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अगाडि बढेको हो ।

गौरीगंज क्षेत्रमा सार्वजनिक र निजि सवारीसाधनहरु संचालन भएपनि बसपार्क नभएका कारण सडकमानै पार्किङ गरिरहेका छन् । गौरीगंज खजुरगाछी बजार क्षेत्रमा पईदल यात्री र सवारीसाधनको आवतजावतका कारण दुर्घटनाको जोखिम समेत घटाउन वर्षाैदेखि एक आधुनिक बसपार्कको सबैले आवश्यकता महसुस गरिरहेका छन् । स्थानिय स्रोत साधन तथा स्थानीय सरकारको बजेट, प्रदेश तथा केन्द्रिय बजेटवाट बसपार्क निर्माणको प्रारम्भिक कार्य थालिएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । २०१८ साल तिर तत्कालिन राजा महेन्द्र यस क्षेत्रको भ्रमणका लागी आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिदै आएको अध्यक्ष श्रेष्ठ बताउछन् ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा सदस्य मुकेश शाहले टहरा सहितको बसपार्कको निर्माण गर्नका लागि ७ करोड ९० लाख रुपैयाँको इस्टमिट गरिएको बताए । गौरीगंजवाट दैनिक काठमाडौ लगायत पूर्व,पस्चिमका विभिन्न स्थानमा पुग्ने बस छुट्ने र सो स्थानबाट आएर बसहरु बास बस्ने गरेका छन् । व्यवस्थित बसपार्क नहुदाँ सडक किनारामा पार्किङ्ग गर्न वाध्यता रहेको वडा सदस्य साहले बताए । गौरीगंज क्षेत्रको बिकाशले तिब्रता पाएसँगै स्तरीय बसपार्क, भन्सार कार्यालयको स्तरोनती, हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल, कल्भर्ट र ब्यबस्थित बजार निर्माणले गौरीगंज प्रदेश नं. १ कै प्रमुख नाकाको रुपमा स्थापित हुने गाउपालिका उपाध्यक्ष दिपिन्द्र थापा बताउँछन् ।