काठमाडौँ: प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चुनिन लागेका नेकपाका एक्ला उम्मेद्वार अग्नि सापकोटालाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक लगाउन र पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्नसमेत माग गरिएको छ । सर्वोच्चका सञ्‍चार विज्ञ किशोर पौडेलका अनुसार द्धन्दकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालिन माओवादीका नेता सापकोटा संलग्न रहेको भन्दै रिट दायर गरिएको छ । यो मुद्दाको पेशी आइतबार तोकिएको पनि उनले जानकारी दिए ।

त्रिपाठीले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाएका छन् । यस्तै, रिटमा सर्वोच्च अदालतले २०६८ सालमै अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ गरी अनुसन्धान नगरेको भन्दै सम्बन्धित प्रहरी र कर्मचारीलाई पनि अदालतको अपहेलनामा सजाय गर्न माग गरिएको छ । यो मुद्दा अत्यन्त गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै अधिवक्ता सापकोटाले अनुसन्धानको निगरानी एवम् सहजीकरणका लागि नेपाल प्रहरीसम्मिलित एउटा शक्तिसम्पन्‍न, उच्चस्तरीय विशेष कार्यदल(स्पेसल टास्क फोर्स) गठनको माग गरेका छन् ।

सर्वोच्च अदालतमा परेको निवेदनको टुंगो नलागेसम्म सापकोटालाई सभाभुख नबनाउन अन्तरिम आदेश जारीको पनि रिटमा माग गरिएको छ । प्रतिनिधिसभको सभामुखको घोषणा आइतबार हुदैछ । अदालतबाट अन्तरिम आदेश जारी नभए सापकोटा निर्विरोध निर्वाचिन हुनेछन् ।