धरान : पाँचौ पानवारी भलिबल कपको उपाधी बाझगरा भलिबल क्लबले जितेको छ । शनिबार धरान-६ स्थित सिमल चौरी खेल मैदानमा भएको फाइनल खेलमा सुन्दरहरैचा नगरपालिकाको टिमलाई ३-१ को सेटमा पराजित गर्दै उपाधी जितेको हो । उपाधीसँगै बाझगराले नगद ७५ हजार र ३५ तोला चाँदीको रनिङ ट्रफि जितेको छ । उपविजेता भएको सुन्दरहरैचाले नगद ४१ हजार र ट्रफि जितेको छ ।

प्रतिष्पर्धात्मक खेलमा बझगराले २५-१८, १५-२५, २५-१९ र २५-१९ ले खेल आफ्नो पक्षमा पारेको थियो । खेलको म्यान अफ द म्याच बाझगराका विवस आले घोषित हुँदै नगद रु २५ सय पुरस्कार प्राप्त गरे ।  प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बाझगराका मिलन चन्द ठकुरी घोषित भए । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट डिफेन्स सुन्दरहरैचाका रवि सेन्चुरी, उत्कृष्ट ब्लकर बाझगराका सुरज चौधरी, उत्कृष्ट लिफ्टर सुन्दरहरैचाका घनश्याम गुरुङ र उत्कृष्ट स्पाइकर सुन्दरहरैचाका योकेन्द्र गुरुङ घोषित भए । उनीहरुलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको विजेता उपविजेतालाई कार्यक्रममा प्रमुख अतिथी एक नं. प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी तथा आयोजक सयपत्री बोइज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले पुरस्कार वितरण गरेका थिए ।