काठमाडौं: रिक्त रहेको प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

आज आइतबार बसेको संसद बैठकबाट सापकोटालाई निर्विरोध निर्वाचित भएका हुन् । सत्तारुढ नेकपाका उम्मेदवार सापकोटालाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । संसद बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका थिए।

यही माघ ६ गतेको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णयले सापकोटा निर्विरोध चयन हुने निश्चित थियो । सभामुखमा अन्य कुनै पनि दलबाट उम्मेद्वारी परेको थिएन । शुक्रबार सापकोटालाई द्धन्दकालमा व्यक्ति हत्याको आरोप लागेकोले सभामुख चयन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । उक्त रिटको सुनुवाई आज न्यायाधिश हरि फुँयालको इजलाशमा परेको थियो । तर, फुँयालले न्यायाधिश नियुक्त हुनुअघि नै पनि २०७२ मा सापकोटाको विपक्षमा बहस गरेकोले उनले यो मुद्दा हेर्न नमिल्ने भएपछि आज सापकोटालाई निर्विरोध निवार्चित हुन सहज भएको थियो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार तथा बलात्कारको आरोप लागेपछि असोज १५ गते राजिनामा दिएका थिए । उनी सोही मुद्दामा पुर्पक्षको लागि थुनामा छन् । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ। उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले पनि राजिनामा दिइसकेकी छिन् । एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नहुने संवैधानिक व्यवस्थाको कारण उनले राजिनामा दिन बाध्य भएकी थिइन् ।