इटहरी: इटहरी २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीले बालबालिकासँगै अभिभावकहरुको पनि निःशुल्क स्वास्थ्य जाँच गरेको छ ।

आईतबार विद्यालय प्राङ्गणमा २ सय २० जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेको हो । विद्यार्थीको आँखा, डेण्टल तथा जेनेरल स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रबन्ध निर्देशक सन्तोष कटवालले बताए । उनका अनुसार १ सय ५६ जना अभिभावकको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । ‘हामी रोगलाई पर्खेर बसिरहेका छौँ,’कटवालले भने, ‘रोग लाग्नु अगावै स्वास्थ्य परीक्षण गरेमा आँफैलाई फाइदा हुन्छ, हामीले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरेर यो कार्यक्रमको आयोजना गरेका हौँ ।’

1-(1) 9

एकजना विद्यार्थीमा आँखाको समस्या देखिएको तथा तीनजना अभिभावकमा आँखाको समस्या देखिएको डा. मुकुन्द कुमार झा ले जानकारी दिए । उनले बालबालिकामा अन्य समस्या देखिएको सहजै थाहा पाउँन सकिने भएको भएपनि आँखाको समस्या थाहा पाउँन परीक्षण नै गर्नुपर्ने बताए । त्यस्तै, स्वास्थ्य परीक्षणमा डाक्टर जितेन्द्र प्रसाद गुप्ताले जेनेरल जाँच गरेका थिए । तरहरामा रहेको नितान्त पोलिक्लिनिकको प्राविधिक सहयोगमा एप्पल ट्रि मन्टेश्वरीले हरेक महिनाको पहिलो आईतबार निःशुल्क स्वास्थ्य परीक्षण गर्ने बताईएको छ ।