धरान : र्याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट भएका १० जना सहभागीहरुलाई आइतबार धरानमा साईबर अपराध सम्बन्धि सचेतना र खाना शिष्टाचार सम्बन्धि तालिम प्रदान गरिएको छ ।

धरान १६ स्थित रहेको युएन नवोदय कलेजमा भएको तालिममा इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले सामाजिक संजाल के हो ? मानिस इन्टरनेटको लतमा कसरी फस्छ ? साईबर अपराध भित्र के के कुराहरु पर्दछन् ? सामाजिक संजालको दुरुपयोग गर्नेलाई कस्तो कानुनी कारबाही हुन्छ ? सामाजिक संजालको सदुपयोग कसरी गर्ने ? बारेमा विद्यार्थीहरुलाई जानकारी दिए ।

सहभागी भएका लियोन श्रेष्ठले आफुले आजकै दिनबाट सामाजिक संजालको दुरुपयोग नगर्ने र अन्य साथीहरुलाई पनि दुरुपयोग नगर्न आग्रह गर्ने बताए । अर्का सहभागी स्वस्तिका धमलाले आजकल धेरै किशोरकिशोरीहरुले सामाजिक संजालको दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले यस्ता सचेतना कार्यक्रम अत्यन्त आबस्यक रहेको बताईंन् ।

युएन नवोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले खाना र टेबल शिष्टाचार सम्बन्धि जानकारी दिए । खाना शिष्टाचार राम्रो भएन भने धेरै ठाउँमा मानिसहरुको अगाडी लज्जित हुनुपर्ने भएकाले यो सबैले जान्नुपर्ने श्रेष्ठले बताए। सहभागी विद्यार्थीहरुलाई विभिन्न प्रकारका व्यवहारिक, सचेतना मुलक र चौतर्फी बिकास गर्ने ज्ञान दिने उद्देस्यले तालिम प्रदान गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । माघ ७ गते भएको पहिलो चरणको अडिसनमा सहभागी २३ जना मध्येबाट उत्कृष्ट १५ जना छनोट भएका थिए भने माघ ९ गते भएको दोश्रो चरणको अडीसनबाट उत्कृष्ट १० जना छनोट भएका थिए । माघ १६ गते शहीद दिवसका अवसरमा ग्राण्ड फिनाले हुने प्रालिका अध्यक्ष कार्कीले जानकारी दिए ।