धरान : सदियौदेखि उत्पीडनमा परेका दलित समुदायको क्षमता विकास गराई आत्मनिर्भर बनाउन धरानमा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको छ ।

माघ १२ गतेबाट बेशिक तथा डिप्लोमा कम्प्युटर तालिम धरान उपमहानगरपालिका दलित विकास समितिले सञ्चालन गरेको हो । धरान ९ स्थित पिआर एजुकेशन सेन्टरमा दलित समुदायका २१ जना युवाहरुलाई उक्त तालिम प्रदान गर्न लागिएको दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले जानकारी दिए ।

२१ औं शताब्दी विज्ञान र प्रविधिको युग भएकोले कम्प्युटर शिक्षा अनिवार्य भए पनि आर्थिक अवस्था कमजोर भएका दलित समुदायका युवाहरुलाई उक्त तालिममा सहभागि गराइएको छ । तालिममा ५१ जना महिला र ६ जना पुरुष सहभागि भएका छन् । दलित जात नभई अवस्था भएकोले शिक्षा, आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक अवस्थामा सुधार ल्याएर दलितको अवस्थामा विकास गराई समानता र समृद्धि ल्याउन सिप तथा आय आर्जनका लागि तालिम सञ्चालन गरिएको सदस्यसचिव लामगादेले बताए ।

तालिमको उद्घाटन गर्दै कार्यपालिका सदस्य तथा दलित विकास समितिका संयोजक किशोर परियारले आर्थिक वर्ष २०७६।०७७ को धरान उपमहानगरपालिकाको अन्य लक्षित बजेट अन्तर्गत सिप तथा आयआर्जनका लागि ३ महिनासम्म कम्प्युटर तालिम सञ्चालन गरेको बताए । पिआर एजुकेशनसँग सहकार्य गरेर तालिम सञ्चालन गर्दा आफुहरु उत्साहित भएको बताए । उनले तालिम अबधिभर मात्र नभई जिन्दगीभर काम लाग्ने शिक्षा सिकेर समाज परिवर्तनको पक्षमा सहयोग गर्ने अपेक्षा लिएको बताए ।

कार्यक्रममा पिआर एजुकेशनका डाइरेक्टर प्रकाश तामाङले आफ्नो तालिम केन्द्रबाट विभिन्न कक्षाको टिउसन कक्षा, विभिन्न देशको भाषा र कम्प्युटर शिक्षा सिकाउँदै आएको बताए । उनले युवा वर्गका लागि कम्प्युटर शिक्षाको महत्व बताउँदै दलित समुदायका युवाहरुलाई आत्मासम्मानका लागि पनि तालिम उपयोगी हुने बताए । ध्यान दिएर तालिममा सहभागि भए तालिम पश्चात रोजगारको व्यवस्था हुनेसमेत बताए ।

उद्घाटन कार्यक्रममा दलित विकास समितिका सदस्य तथा परियार सेवा समाज सुनसरीका अध्यक्ष खगेन्द्र बहादुर नेपालीले प्रशिक्षार्थीहरुलाई तालिम केन्द्रले तोकेको अनुशासनमा रहेर सिक्न जोड दिए । समितिका सदस्य लिला शंकरले कार्यक्रमको सञ्चालन गरेका थिए भने सदस्य रामधारी बासफोर, केदार बराइली, धनबहादुर हमाल लगायतको उपस्थिति रहेको थियो ।